गगन थापाहरुलाई राँची लग्न आवश्यक भैसक्यो युवानेता गाउँले


फागुन १३, कालीकोट ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटका युवानेता चित्रसिंह गाउँलेले सरकारले गरेका राम्रा राम्रा छर्लङ्ग देखिने कामहरु समेत नदेख्ने कांग्रेस नेता गगन थापाहरुलाइ उपचारका लागि राँची लग्न आवश्यक भएको धारणा राख्नु भएको छ । सोमबार कालीकोटको पलाँता गाउँपालिकामा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले सो धारणा राख्नु भएको हो ।
कांग्रेस कुनै विचार नै नभएको बूढो पार्टी हो भन्ने सबैलाई जगजाहेर भएकै विषय हो भन्दै नेता गाउँलेले त्यो पार्टीमा रहेका युवा नेता गगन थापाहरुको पनि अब देख्ने र सोच्ने कुरा कमजोर भइसकेको दाबी गर्नुभयो । कांग्रेस सरकारमा रहँदा राज्यकोषको ब्रम्हलुट गर्दै देश कंगाल बनाउने र संसदीय व्यवस्थालाई राजा ज्ञानेन्द्रको हातमा बुझाउने जस्ता भयंकर घटिया क्रियाकलापलाई विर्सेर वर्तमानमा सरकार माथि नानाथरीका आरोप लाउनुले सिंगो पार्टीनै राँची मार्गतिर गैरहेको उहाँको आरोप थियो ।  योगदानमा आधारित सामाजिक सुरक्षा र प्रधानमन्त्री रोजगार कार्यक्रम, सुमधुर परराष्ट्र सम्बन्ध, तराईमा डुबान समस्याको अन्त्य, पूर्वाधार निर्माणमा दिइएको गति र कानुन निर्माण धमाधम भइसकेको विषय नदेख्नु कांग्रेसको ठूलो दृष्टिभ्रम हो भन्ने उहाँले कार्यकर्तालाई सम्झाउदै भन्नुभयो । पार्टीको जिल्ला नेतृत्वमा पात्र जो चुनिएर आए पनि आखिर जिल्ला पार्टी सशक्त ढंगले चलाउन सकिनेमा ढुक्क रहन उहाँले कार्यकर्तालाई विश्वास दिलाउनु भएको थियो ।
कार्यक्रममा नेकपा नेताहरु धिरबहादुर वम, अनन्त विश्वकर्मा, गाउँपालिका अध्यक्ष लक्ष्मण वहादुर वम लगाएतले सम्बोधन गर्दैै कम्युनिष्ट सत्ता भएको कारण नै पलाँताले पनि नमुनाको रुपमा कार्य गर्न सफल भएको तर त्यसको जस केवल नेतृत्व गर्ने जनप्रतिनिधि मात्रैले लिन पाइराखेको वताएका थिए । नेकपा नेता विष्णुवहादुर रोकायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी र सरकारका गतिविधि वारे समिक्षा गरिएको जनाइएकाे छ ।