२८ फागुन, सुर्खेत । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सुर्खेत महिला जेसीजले जिल्ला कारागारका महिलाहरुका लागि आयोजना गरिएको जीवन रुपान्तरण तालिम सम्पन्न भएको छ । आर्ट अफ लिभिङ्गका वरिष्ठ प्रशिक्षक डा. कञ्चन घिमिरेले कारागारमा कैद सजाय भुक्तान गरिरहेका महिलाहरुका लागि ‘प्रिजन स्मार्ट कोर्ष’को पाँच दिने प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले जीवन रुपान्तरण तालिमबाट नयाँ जीवन प्राप्त गरेको अनुभव सुनाए । उनीहरुले आफूमा नयाँ उर्जा र सकारात्कम सोचको विकास भएको भन्दै यसलाई समाजका लागि प्रयोग गर्ने बताएका थिए ।
वरिष्ठ प्रशिक्षक डा. घिमिरेले थोरै समयमा चार पर्खालभित्र रहेका कैदी–बन्दीहरुमा सकारात्मक सोचको विकास गर्न पाउँदा खुशी लागेको बताउनुभयो । ‘मैले सकारात्मक सोच सम्वन्धी धेरै ठाउँहरुमा प्रशिक्षण दिएँ’ उहाँले भन्नुभयो ‘कारागारमा परिवन्दमा परेर जेल जीवन विताइरहेकाहरुलाई प्रशिक्षण दिन पाउँदा धेरै खुशीको अनुभूति भएको छ ।’
कार्यक्रममा सुर्खेत महिला सामाजिक विकास मन्त्रालयका प्रमुख महिला विकास अधिकृत जमुना पौडेलले सकारात्मक सोचको विकास हुनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले समाज परिवर्तनमा सबैको साथ र सहयोग आवश्यक हुने भन्दै सकारात्मक सोच र उर्जाका साथ जीवन जिउनुपर्ने बताउनुभयो ।
सुर्खेत महिला जेसीजका अध्यक्ष लक्ष्मी कार्की प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष कृति शाक्य गुभाजु, पूर्व अध्यक्ष ज्योति कार्की, जेलर जंगबहादुर रानालगायतले आआफ्नो मन्तब्य राख्नुभएको थियो ।
Milan Shrestha । २८ फाल्गुन २०७५, मंगलवार २२:५३ बजे