रुकुम पश्चिमको सानीभेरी गाउँपालिका जातिय छुवाछुत मुक्त घोषणा


२१ चैत्र, रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकालाई जातिय छुवाछुत मुक्त घोषणा गरिएको छ । गाउँपालिकामा कुनैपनि खालको जातिय छुवाछुत नरहेको भन्दै आज एक कार्यक्रमका विच गाउँपालिकालाई जातिय छुवाछुत मुक्त तथा सामाजिक सदभाव युक्त गाउँपालिका घोषणा गरिएको हो ।

कर्णाली प्रदेशका सामाजिक विकास समितिका सभापति राजु परियारले गाउँपालिकालाई जातिय छुवाछुत मुक्त घोषणा गर्नुभएको छ । गाउँपालिका भरि रहेका सार्वजनिक धारा, कुवा तथा भौतिक संरचना प्रयोग र प्रवेशमा विभेद नरहेको, सवै जातजातिहरुको मन्दिरमा साझा पहुँच रहेको, जातीय कारणले चुलो, भान्सा तथा खानपानमा छुवाछुत नरहेको, अन्तरजातिय विवाह सहज हुँदै गएको र बिद्यालयमा बालवालिकाहरु माथि जातका नाममा कुनै विभेद नभएको गाउँपालिकाले दाबी गरेको छ ।

त्यस्तै गाउँपालिकामा बालिघरे प्रथा उन्मुलन हुँदै जानुका साथै परम्परागत जातीय सिपमा आधारित कामहरुमा सम्मान जनक व्यवहार बृद्धि र कानुनले सामाजिक अपराधका रुपमा लिएको जातीय भेदभावलाई गाउँपालिकावासीले बुझ्दै गएको गाउँपालिका अध्यक्ष नरवहादुर पुनले बताउनुभयो ।

यसैविच गाउँपालिकालाई जातिय छुवाछुत मुक्त घोषणा गर्दै गाउँपालिकाले यस सम्बन्धी १० वटा नीति तथा कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । सानीभेरी गाउँपालिका जातिय छुवाछुत मुक्त घोषणा हुने जिल्लाको तेस्रो स्थानीय तह बनेको छ ।

बाँफिकोट गाउँपालिका गत असार ५ गते जिल्लाको पहिलो स्थानीय तहका रुपमा जातिय छुवाछुत मुक्त तथा सामाजिक सदभाव युक्त घोषणा भएको थियो । त्यस्तै यहि चैत्र ७ गते जिल्लाको चौरजहारी नगरपालिका दोस्रो स्थानीय तहका रुपमा जातिय छुवाछुत मुक्त घोषणा भएको थियो । जिल्लाका ६ स्थानीय तह मध्यमा अव मुसीकोट नगरपालिका, आठबीसकोट नगरपालिका र त्रिवेणि गाउँपालिका जातिय छुवाछुत मुक्त घोषणा हुन बाँकी रहेका छन ।