
१७ बैशाख, सुर्खेत । गएको आईतवार र सोमवार वीरेन्द्रनगर वजार अनुगमनका क्रममा अनुगमन समितिले सुर्खेतका सम्पूर्ण प्रशोधित पिउने पानी उद्योगहरुमा सिलवन्दी गरेको भन्दै सुर्खेतका व्यापारिक संस्था सुर्खेत उद्योग वाणिज्य संघ र सुर्खेत चेम्बर अफ कमर्सले यस कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको छ जनाएका छन् ।
यस्तो प्रचण्ड गर्मीको समयमा उपभोक्ताहरुले उपभोग गर्दै आएको पिउने पानी उद्योगहरुमा गरिएको कार्वाहीले वजारमा पानीको हाहाकार भएको र यसले उपभोक्ताको अधिकार समेत कुण्ठित गरेको भन्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत र सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्माले सयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दे यसको विरोध गर्नुभएको छ ।
राज्यले उद्योग धन्दाको संरक्षण र प्रर्वद्धन गर्नु पर्नेमा उल्टै भएका उद्योगहरु समेत बन्द गरिनुले आगामी दिनमा प्रदेशमा उद्योग धन्दाको विकास नहुने विज्ञप्तिमा उल्लेख छ ।
एक्कासी उद्योग शिल नै नगरी कुन पक्षमा कमजोरी भएको हो भनेर उद्योगीलाई समेत जानकारी नदिई समितिले यस्तो कदम चालेको भन्दै दुवै संस्थाले उक्त कार्यको विरोध गरेका हुन । उद्योगहरुमा केही कमीकमजोरी भए सुझाव दिएर सुधार गर्न संकेत दिनुपर्ने भएपनि एक्कासी उद्योग नै शिल गरिनुले राज्य ब्यवसायीहरुप्रति उदार नभएको पुष्टि गर्दछ विज्ञप्तिमा भनिएको छ ।
करोडौको लगानीमा स्थापना भएका पानी उद्योगहरुमा प्रशासनवाट गरिएको यस्तो हर्कतले स–साना स्थानीय लगानीकर्ताहरुको लगानी डुव्ने र भविष्यमा समेत उद्योग धन्दाहरुमा लगानी गर्ने वातावरण नवन्ने उहाँहरुको भनार्ई छ ।
उद्योगीहरुले तत्काल विनाशर्त पानी उद्योगहरु संचालन हुने वातावरण बनाईदिन जिल्ला प्रशासन कार्यालय सुर्खेत र खाद्य प्रविधि तथा गुण नियन्त्रण ईकाई कार्यालय सुर्खेतलाई अनुरोध गरेका छन् ।
लगानीकर्ताहरुको लगानी धरासायी हुने अवस्थाको सिर्जना गरिए यसवाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको दायित्व सम्वन्धित पक्षले लिनुपर्ने समेत जानकारी गराउन चाहान्छौ विज्ञप्तिमा भनिएको छ ।
Milan Shrestha । १७ बैशाख २०७६, मंगलवार १८:५४ बजे