अनसनमा बसेका डा.केसीलाई शिक्षण अस्पतालले स्लाइन पनि दिएन


  • ‘केसी सुतेकाे बेड र स्लाइन स्ट्यान्ड कवाडीमा फ्याँकिएका सामाग्री’

 असार २८, २०७३- त्रिवि शिक्षण अस्पताल प्रशासनले आमरण अनशनमा रहेका प्रा.डा.गोविन्द केसीलाई सामान्य चिकित्सकीय सुविधा दिन अस्वीकार गरेको छ । kc21

गणेशमान सिंह नाक, कान, घाँटी भवनको सानो कोठामा अनशनरत डा.केसीलाई मंगलबार पिसाब कम आउनुका साथै सास फेर्न गाह्रो भएपछि हेरचाह गरिरहेका विद्यार्थीले चिकित्सकीय सहयोग माग्दा दिइएन । उनको शरीरमा पानीको मात्रा कम देखिएको छ ।

‘हामीले स्लाइन पानी दिन नसा खोल्न ‘इएनटी’का नर्सिङ स्टाफलाई सघाउन अनुरोध गर्दा उहाँहरूले अस्पतालका निर्देशकले त्यहाँ नजान र सहयोग नगर्न भन्नु भएको छ भनेर मान्नुभएन,’ डा.केसीलाई सघाइरहेका एमबीबीएस अन्तिम वर्षका विद्यार्थी सुमन आचार्यले भने, ‘स्लाइन पानी राख्ने स्ट्यान्डसमेत अस्पतालले दिएन । हामीले कवाडीमा फ्याँकिएको एउटा बिग्रेको स्ट्यान्ड प्रयोग गर्‍यौं ।’ उनका अनुसार अस्पतालका कर्मचारीले नसघाएपछि रेजिडेन्ट चिकित्सकहरूले नै उनलाई स्लाइन दिएका थिए ।

नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी, नेसनल रेजिडेन्ट डाक्टर एसोसिएसन र विद्यार्थी कल्याणकारी कमिटिले मगंलबार अस्पताल निर्देशकलाई संयुक्त रूपमा लिखित पत्र दिँदै डा.केसीलाई स्वास्थ्य लगायत विषयमा सघाउन आग्रह गरेका छन् । विगतमा ७ पल्टको अनशनमा अस्पताल सञ्चालन र सेवामा कुनै असर नपरेको जनाउँदै उनीहरूले डा.केसीप्रति अस्पताल प्रशासनबाट भएको असहयोग र गैरजिम्मेवारपनको निन्दा गरेका छन् ।

डा.केसीको बिग्रँदो स्वास्थ्य स्थितिलाई ध्यानमा राखेर उपयुक्त कोठासँगै नजिकबाट निगरानी गर्न उपकरण र जनशक्ति तुरुन्त उपलब्ध गराउनसमेत विद्यार्थीले माग गरेका छन् । रेजिडेन्ट डाक्टर र विद्यार्थीले अस्पतालमा कार्यरत सबै प्राध्यापक, फ्याकल्टी, कर्मचारी लगायतलाई व्यक्तिगत स्वार्थ तथा धम्की र दबाबमा नपरी निष्ठाको लडाइँमा साथ दिन आहवान गरेका छन् ।

रेजिडेन्ट डाक्टर एसोसिएसनका अध्यक्ष डा.लिजन महर्जनले डा.केसीलाई उपयुक्त चिकित्सा सुविधा दिन अस्पताल निर्देशकलाई मंगलबार बुझाएको पत्रको जवाफपछि थप रणनीति तय गरिने बताए ।

चिकित्सक संघले भेट्यो 
नेपाल चिकित्सक संघका महासचिव डा.मुक्तिराम श्रेष्ठले मंगलबार अनशनस्थल पुगी डा.केसीसँग भेटेका छन् । भेटमा केसीले पहिलेजस्तो सम्झौता नहुने जनाउँदै सबै माग पूरा नभएसम्म अनशन जारी रहने बताएका थिए । अनशनबारे छलफल गर्न बुधबार संघको बैठक बस्ने तयारी भएको श्रेष्ठले बताए ।
राष्ट्रिय चिकित्सक संघ नेपालले पनि डा. केसीका मागप्रति सहमति जनाउँदै उनको आन्दोलनमा ऐक्यबद्घता जनाएको छ । संघका अध्यक्ष डा.सन्तोष पौडेलले विज्ञप्ति जारी गर्दै सरकारलाई पहिले भइसकेका सम्झौता अविलम्ब लागू गर्नुका साथै डा.केसीका माग पूरा गर्न माग गरेको छ ।

डिन कार्यालयको विरोध
शिक्षण अस्पतालमा एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीहरूको संस्था नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी -एनएमएसएस)ले चिकित्सा शास्त्र अध्ययन संस्थान, डिनको कार्यालयले डा.केसीको अनशनमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता भए कारबाही गरिने भनी जारी गरेको विज्ञप्तिको भत्र्सना गरेको छ ।

एनएमएसएसले ‘धम्कीको शैलीमा विद्यार्थीहरूको आत्मसम्मानमा आँच पुग्ने गरी’ डिनको कार्यालयले विज्ञप्ति निकालेको भन्दै डा.केसीको पक्षमा जुनसुकै पाइला चाल्न तयार रहेको जनाएको छ । डा. केसीलाई छिट्टै उपयुक्त स्थान उपलब्ध गराउनसमेत एनएमएसएसले माग गरेको छ ।

साभारः कान्तिपूर अनलाइन