चीनद्वारा नेपाललाई नोट हस्तान्तरण
माघ ५, २०७३- पहिलोपटक चीनमा छापिएका एक हजार दरका नेपाली नोटहरु नेपाल राष्ट्र बैंकले प्राप्त गरेको छ । चीनको च्याङसी प्रान्तको सदरमुकाम नानछाङमा छापिएका नोटहरु नेपाललाई गत सोमबार चीनले हस्तान्तरण गरेको हो ।
पहिलो चरणमा चिनियाँ मुद्रा मुद्रण संस्थाद्वारा छापिएका एक हजार दरका नेपाली नोटलाई सोमबार च्याङसीको नानछाङबाट काठमाडौँ पठाइएको चीनको केन्द्रीय टेलिभिजन सेवा सीसीटीभीले जनाएको छ । चिनियाँ मुद्रा मुद्रण प्रविधिले अन्तर्राष्ट्रिय मुद्रा मुद्रण कार्यमा भाग लिएको पनि पहिलोपटक हो ।
नेपाल राष्ट्र बैंकले नेपाली मुद्रा छाप्नका लागि अन्तर्राष्ट्रिय कोटेसन बिड आव्हान गरेको थियो । विश्वमा मुद्रा छापिरहेका बेलयात, फ्रान्स लगायतका विश्वका अन्य ख्यातिप्राप्त कम्पनीहरुले भाग लिएको सो प्रतिस्पर्धामा चिनियाँ कम्पनी छनोट भएको थियो ।
चिनियाँ मुद्रा मुद्रण संस्था अन्तर्गत च्याङसीको नानछाङ प्रिन्टिङ कम्पनी लिमिटेडले गत भदौमा नेपाली मुद्रा छाप्ने अर्डर प्राप्त गरेको थियो । चिनियाँ कम्पनीले नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरका २० करोड नोटहरु अर्थात् दुई खर्ब रुपैयाँ बराबरका नोटहरु छाप्ने अर्डर पाएको थियो ।
पहिलो चरणमा २८ अर्ब ४० करोड रुपैयाँ बराबरका दुई करोड ८४ लाख थान एक हजार रुपैयाँ दरका नोटहरु चीनले नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरेको हो । अर्डर पाएको पाँच महिनामै अर्डरमध्ये दस प्रतिशत काम चिनियाँ कम्पनीले पूरा गरेको समाचारमा जनाइएको छ ।
नानछाङ प्रिन्टिङ कम्पनी लिमिटेडका महाप्रबन्धक ली चङले नेपाली मुद्रा छाप्नका लागि मसी, पेपर र छाप्ने प्रविधि सबै चीनको स्थानीय प्रयोग गरिएको बताएका छन् । चीनमा छापिएको नेपाली नोटहरु गुणस्तरीय भएको प्रयोगशालाबाट पनि प्रमाणित भएको उनले बताए ।
साभारः कान्तिपूरअनलाइन



Prawash Kumar Shakya । ५ माघ २०७३, बुधबार १३:०६ बजे