१८ असार, सुर्खेत । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले प्रक्रिया विना नै कर्मचारी नियुक्तिका लागि आव्हान गरेको विज्ञापनमाथि उच्च अदालत सुर्खेतले अन्तरिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
विज्ञापन त्रुटिपूर्ण रहेको भन्दै संस्थाका स्किम प्रमुखहरु शिवप्रसाद गौतमलगायतले मंगलवार परमादेशका लागि उच्च अदालतमा रिट निवेदन दर्ता गराराउनु भएको थियो ।
बुधवार दिउँसो उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रमेश पोखरेलको एकल इजलाशले असार २७ गतेसम्मका लागि विज्ञापन अनुसारको नियुक्ति प्रक्रिया अगाडि नबढाउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता उत्तम आचार्यका अनुसार असार २७ गते छलफलका लागि बोलाइएको छ । सोही छलफलमा अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने टुंगिनेछ ।
अल्पकालीन अन्तरिम आदेशले असार २७ गतेसम्म सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले आव्हान गरेको विज्ञापनको नियुक्ति प्रक्रिया अगाडि नबढाउनु भन्ने बुझिने अधिवक्ता आचार्यले बताउनुुभयो ।
यसैविच समाचार संकलन गर्न गएका तीन जना पत्रकारलाई संस्थाका कर्मचारीहरुले दुर्व्यहार गरेका छन् ।
देउती एचडी टेलिभिजनमा कार्यरत पत्रकार बुद्धिसिंह ठकुरी, नवराज रोकाय र क्यामरापर्सन भीम परियारलाई अध्यक्ष कूलमणि देवकोटासहितका कर्मचारीले हातपात गर्दै दुर्व्यहार गरेका थिए । उ
दुर्व्यहारप्रति नेपाल पत्रकार महासंघ सुर्खेतले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता घटना नदोहोर्याउन आग्रह गरेको छ ।
अध्यक्ष गणेशकञ्चन भारती र सचिब सुदिप पुरिद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचार संकलन गर्ने क्रममा गरिएको दुर्व्यहारले प्रेस स्वतन्त्रताको ठाडो हस्तक्षेप र नागरिकले सूचना पाउने अधिकार बञ्चित गराउन खोजिएको भन्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न भनिएको छ ।
अल्पकालीन अन्तरिम आदेशको पत्र संस्थाका कार्यालय प्रमुख डम्मर गौतमले बुझ्नुभएको छ । उहाँले अदालतका कर्मचारीले आफ्नो नाममा आएको पत्र बुझेको र अन्यले बुझे नबझेको जानकारी नभएको बताउनुभयो ।
ट्रेड युनियनले नियम अनुसार विज्ञापन गरिएको दावी गरेपनि कार्यालय प्रमुख गौतमले भने नियम मिचेर विज्ञापन गरिएको बताउनुभएको छ । उहाँले पदपूर्ति समितिको सदस्य सचिवको अनुपस्थितिमा बिज्ञापन आव्हान गरिनु कसरी विधि अनुसार भयो भन्दै उक्त विज्ञापन प्रक्रिया विपरित भएको उल्लेख गर्नुभएको छ ।




Milan Shrestha । १८ असार २०७६, बुधबार २१:५० बजे