कोरोनाबाट जनताको जीवन रक्षा गर्नु नै पहिलो प्राथमिकता हो – मुख्यमन्त्री शाही


२० जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोनाबाट जनताको जीवन रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता भएको वताउनुभएको छ ।

आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको मंगलवार प्रदेश सभाको वैठकमा जवाफ दिदै मुख्यमन्त्री शाहीले भोकबाट जोगाउनु पनि सरकारको प्राथमिकता भएको वताउनुभएको हो ।

कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थिति र महामारीको संकटसंग जुध्नका लागि सरकारले तय गरेको प्राथमिकताका सम्वन्धमा प्रदेशसभामा सर्वसम्मति देखिएको उहाँको भनाई छ । मुख्यमन्त्री शाहीले नेपालमा कोरोना संक्रमण भित्रिएको चार महिना सम्म पनि कर्णालीमा संक्रमण रोकेको दावी गर्नुभयो । पछिल्लो वेला भारतवाट विसौं हजार नागरिक कर्णाली भित्रिएको र उनीहरुसंगै संक्रमण पनि भित्रिएको वताउदै मुख्यमन्त्री शाहीले ठुलो संख्यामा नागरिक भित्रिएकोले क्वारेन्टाईन, आईशोलेसन र परिक्षणको व्यवस्थापनमा केही समस्या देखिएको धारणा राख्नुभयो ।

मुख्यमन्त्री शाहीले कोरोना नियन्त्रण तथा रोकथामका लागि क्वारेन्टाईन व्यवस्थित गर्ने र संक्रमणलाई समुदायमा फैलन नदिई नियन्त्रणमा राख्ने नीति लिईएको वताउनुभयो । संक्रमण रोकथामका लागि RDT र PCR परिक्षणको दायरा वृद्धि गर्ने र प्रदेशमा PCR प्रयोगशाला थपेर तीन स्थानबाट परिक्षण गरिने उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले कोरोनाले उत्पन्न समस्या मध्य कर्णालीमा भोकमरीको समस्या पनि प्रमुख समस्याका रुपमा रहेकोले भोकमरीवाट जोगाउँन आगामी आवमा खाद्य सुरक्षा, खाद्य आपूर्ति र उत्पादन वृद्धिमा जोड दिईने वताउनुभयो । उहाँले चालु आर्थिक वर्षमै २५ हजार क्वीन्टल चामल, १२ हजार क्वीन्टल गहुँ, ३ हजार क्वीन्टल दाल खरिद गरी भण्डार गर्ने र खाद्य संकट हुने जिल्लामा पठाएर भोकमरी हुन नदिने निर्णय गरेको जानकारी दिनुभयो ।

खाद्यान्न, तरकारी, फलफुल रैथाने वस्तु उत्पादनलाई प्राथमिकता दिने वताउदै मुख्यमन्त्री शाहीले अन्नवाली, फलफुल, दुग्धजन्य र मासुजन्य उत्पादनको वृद्धि गरि कर्णालीलाई खाद्यान्नमा आत्मानिर्भर वनाउन सरकार प्रतिवद्ध रहेको वताउनुभयो । मुख्यमन्त्री शाहीले उत्पादनसंग रोजगारीलाई जोडेर आत्मानिर्भरता तर्फ अघि बढ्ने नीति ल्याएको वताउदै स्थानीय तह र जनप्रतिनिधिहरुलाई सक्रिय रुपमा परिचालन गरि रोजगारमुलक कार्यक्रम संचालन गर्ने, त्यसवाट उत्पादन वृद्धि गर्ने, खाद्य संकट हुन नदिने र विकास निर्माणका काममा समेत मानवीय श्रमको प्रयोग गरि रोजगारि श्रृजना गरिने वताउनुभयो ।

मुख्यमन्त्री शाहीले कोरोना प्रभाव कायम रहेको अवस्थामा पठन पाठन प्रभावित हुने तर्फ सरकारको ध्यान गएको भन्दै प्रविधिको प्रयोग मार्फत (भर्चुअल, अनलाईन, रेडियो, टीभी) पठन पाठन अघि बढाईने वताउनुभयो । “समृद्ध कर्णाली, सुखारी कर्णालीवासी”को दीर्घकालीन लक्ष्य प्राप्त गर्न तत्कालिन र दीर्घकालिन सवालहरुलाई सम्वोधन गर्न सरकारले “स्वास्थ्य, शिक्षा, उत्पादन र आपुर्ति–रोजगारी, आजिविका, पुर्वाधार र समृद्धि” भन्ने मुल नारा बनाएको उहाँको भनाई छ । भ्रष्ट्राचार र अनियमितताका सवालमा सरकार गंभिर रहेको वताउदै भ्रष्ट्राचारीलाई कारवाहीको दायरामा ल्याईने तथा सरकार र संसदीय अनुगमन संयन्त्र मार्फत पनि अनुगमनलाई प्रभावकारी वनाईनेमा मुख्यमन्त्री शाहीले जोड दिनुभयो ।

मुख्यमन्त्री शाहीले कोरोनाका कारण उत्पन्न संकटलाई ख्याल गर्दै फजुल खर्च हुन नदिने, प्रशासनिक खर्चलाई नियन्त्रण गर्ने र गाडि, फर्निचर, मेशीनरी लगायतका सामाग्री खरिदमा रोक लगाउने वताउनुभयो । यसैगरि अनावश्यक भ्रमण खर्च, तालिम गोष्ठी र भत्ताहरु पनि कटौती गरिने उहाँको भनाई छ ।