आरक्षण बचाऔं आन्दोलनका पहिलो चरणका कार्यक्रम सम्पन्न


४ साउन, सुर्खेत । नेपाल आदिवासी जनजाती महासंघले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै सुरु आरक्षण बचाऔं आन्दोलनको पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु आज समाप्त भएको छ ।

नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद सुर्खेतको नेतृत्वमा लोकसेवाको विज्ञापनविरुद्व पहिलो चरणको आन्दोलनमा सिठी जुलुस, मसाल जुलुस, जिल्ला प्रशासन कार्यालय तथा लोक सेवा आयोगको कार्यालय घेराउ लगाएतका कार्यक्रम गरिएको महासंघका अध्यक्ष पञ्चसिंह रोकाय बताउनु भएको हो ।

अध्यक्ष पञ्चसिंह रोकायले लोकसेवा आयोगमा आफूहरुले पाउदै आएको आरक्ष सिटहरुलाई संविधानको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले सुचना प्रकाशित गरी अपहेलना गरेको कारणले केन्द्रिय कार्यक्रम अन्तर्गत चरणबद्ध आन्दोलन गर्न बाध्य भएको बताउनु भयो ।

संविधानको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले प्रकाशित गरेको असमावेसी विज्ञापन र प्रकृया तुरुन्त रद्द गरी आरक्षण सुनिश्चितता सहितको विज्ञापन अविलम्ब पुनः प्रकाशित गराउनका लागि विभेदकारी सरकारको विरुद्धमा आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपांगता भएका व्यक्ति,पिछडिएको क्षेत्रले पहिलो चरणको आन्दोलनमा सहभागिता जनाएका थिए ।

शान्तिपूर्ण मसाल जुलुसमा भने प्रहरी हस्तक्षेप गरिपछि त्यस्को चर्को विरोध गरिएको थियो । आन्दोनलको आज अन्तिम दिन प्रहरीको हस्तक्षेप पछि लोक सेवा आयोग नजिक कोण सभा गरि पहिलो चरणको आन्दोलन सम्पन्न गरिएको महासंघका अध्यक्ष रोकायले जानकारी दिनुभयो ।