बझाङमा भुकम्प जाँदा मध्यपश्चिमबासी त्रसित


सुर्खेत, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा बारम्बार भुकम्प गएको खवरले मध्यपश्चिमका नागरिकहरु त्रसित बनेका छन् । साना ठुला गरी बझाङमा मात्रै विहीबार साँझसम्म ३० वटा पराकम्पन गएका छन् । बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा बझाङ सदरमुकामदेखि उत्तरपूर्वको ११ किलोमिटर कँडेल भन्ने ठाउँमा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यसपछि लगातार २१ वटा पराकम्पनबाट धक्का महशुस भएको भुकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक कपिल महर्जनले जानकारी दिए । तर उनले बाँकी पाँचवटा भने ४ म्याग्नेच्यूड भन्दा तलका पराकम्पन गएको बताए । बझाङको चैनपुर आसपास केन्द्र बनाएर बुधबार गएको भुकम्प र सुर्खेतसम्मको स्केल दुरी एक सय १९ किलोमिटर छ । बझाङमा ५ रेक्टर स्केलको भुकम्प गएपनि सुर्खेतमा यसको धक्का महसुस नभएको केन्द्रका प्राविधिक महर्जन बताउँछन् । बझाङ जिल्लाका कुनै पनि ठाउँमा ६ म्याग्नेच्यूटको भुकम्प गएमात्रै सुर्खेतमा ठुलो क्षती हुने सक्ने आँकलन प्राविधिक महर्जनको छ ।

‘भुकम्पको पूर्वानुमान छैन्, तर बझाङमा पराकम्पन घट्दै गएका छन् ।’ प्राविधिक महर्जनले भने,–‘अहिले नै ढुक्क हुने अवस्था छैन् । तपाई हामी सवै बेलैमा सजक हुन आवश्यक छ ।’ २०७१ साल बैशाख ११ गते गोरखाको वारपाक केन्द्र बनाएर गएको ७.८ म्याग्नेच्यूटको भुकम्पले सुर्खेतसहित मध्यपश्चिमका अन्य जिल्लाहरुमा भौतिक र मानविय क्षती भएको थियो । ‘सुर्खेतदेखि गोरखाको वारपाकसम्मको स्केल दुरी ३ सय ५० किलोमिटर थियो ।’ केन्द्रका प्राविधिक महर्जनले थपे,–‘त्यति टाढासम्मको भुकम्पले सुर्खेतका घर चर्किएका थिए भने बझाङ त्यो भन्दा तीन गुणा नजिक छ । क्षती नहोला भन्न सकिदैन, सजक चाही हुनै पर्छ ।’

नेपालको पश्चिम भागमा सन् १९१६ मा ७.३ म्याग्नेच्युडको भूकम्प दार्चुलामा, सन् १९६६ मा ६.१ र ६.३ म्याग्नेच्युड बैतडीमा र ६.५ म्याग्नेच्यूडको भुकम्प बझाङ केन्द्रविन्दु भएर गएको रेकर्ड भुकम्प मापन केन्द्र सुर्खेतसंग छ । तर सन् १५०५ देखि हालसम्म करिब ६०० बर्षको अवधिमा नेपालको पश्चिम भागलाई प्रभाब पार्ने गरि भूकम्प गएको छैन् ।

सुर्खेतसहित अन्य जिल्लाहरुमा अधिकाँश घरहरु भुकम्प मापदण्ड विपरित निर्माण भएकाले ६ म्याग्नेच्यूटभन्दा माथिका भुकम्पले ठुलो जनधनको क्षती हुनसक्ने आँकलन भुकम्प विद्हरुको छ । सुदूरपश्चिमका अधिकाँश जिल्लामा भुकम्पले ठुलो क्षती पु¥याउने भन्दै सावधानी अपनाएको छ ।

यता सुर्खेतमा पनि जिल्ला प्रशासन कार्यालयले भुकम्पकै लागि मात्र नभएर समग्र दैवी प्रकोपका लागि पूर्व तयारी गरिएको जनाएको छ । भुकम्पकै लागि मात्र नभएर विपत् आएपछि कसरी उद्धार कार्यमा खटिने भन्ने विषयमा व्यापक छलफल गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी हितप्रसाद पौडेलले जानकारी दिए । जिल्लाका तीन वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना), रेडक्रस लगायतलाई तयारी अवस्थामा रहन निर्देशन दिइ सकेको अधिकारी पौडेलले बताए ।

साभारः अनलाइन सुर्खेत