नमूना वस्ती बनाउँदै कर्णाली प्रदेश सरकार


३ असोज,  कालिकोट । कर्णाली प्रदेश सरकारले पलाँताका चार गाउँलाइ आर्थिक बर्ष २०७६/०७७ मा नमुना बस्ती बनाउने तयारी थालेको छ ।

नमुना बस्ती निर्माणका लागि प्रदेश सरकारले पलाँता वडा नं. २ लार्फको दलित बस्ती छनोट गरेको छ । गाउँकार्यपालिका बैठकले पलाँता २ को बाँजडा ५ को गोठालीचौर र ९ को माथिल्लो दलित टोल नमुना बस्ती बनाउने निर्णय गरेको हो ।

शिक्षा, स्वास्थ्य खानेपानी सरसफाइ रोजगारी लगायतका सेवामा पहुँच पुगेपछि नमुना बस्ती घोषणा गर्ने तयारी भइरहेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाँती कान्छाले बताउनु भयो । नमुना बस्ती निर्माणका लागि कार्यविधि बनाउने काम भइरहेको छ । कार्यविधिमा के–के सेवा सुबिधाहरु पुरा भएपछि नमुना बस्ती घोषणा गर्ने भन्ने कुराहरु उल्लेख गरिने पलाँताका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनु भयो ।

गोठाली चौरमा के–के पूर्वाधार तयार भए ?

जनता आवास कार्यक्रमबाट गोठालीचौरका ३२ घरधुरी निर्माण भएका छन् । शौचालय घरधनी आफैले निर्माण गरी प्रयोग गर्न थालेका छन् । स्वस्थ्य सेवाका लागि जनस्वास्थ्य सेवा केन्द्रबनाउने तयारी भइरहेको छ । कक्षा ५ सम्मको विद्यालय संचालनमा छ । जाँफे फागोटी थिर्पु रिगरोडले गोठालीचौरको बस्तीलाइ छुनेछ । साना सिचाइ आयोजना अन्तरगत त्यहाँ सिचाइ पुग्ने भएको छ । औलाखालो लद्युजल बिद्युत आयोजनाबाट बिद्युत सेवा पुगि सकेको छ । गाउँपालिकाले एक घर एक धारा कार्यक्रम अन्तर्गत यसै बर्ष सबै घरधुरीमा खानेपानीको सुबिधा पु¥याउने लक्ष्य लिएको वडा नं. ५ का अध्यक्ष बिरबहादुर बमले बताउनु भयो ।

बन्जाडा बस्ती

वान्जडामा के–के हुदै छ ?

गाउँपालिका मार्फत १ सय १ घरधुरीमा शौचालय निर्माण तथा एक घर एक धारा निर्माण कार्य सुरुवात भएको छ । त्यहाँका लागि बिश्व खाद्यले सिचाइ र पलाँता कृषि शाखाले एक घर एक बगौचा कार्यक्रम संचालन गर्ने भएका छन् । दुर्सिखोला लघु जलबिद्युत आयोजनाबाट त्यहाँका घरधुरीमा बत्ती पु¥याइएको छ । यसै बर्ष वडा नं. २ को बान्जडा बस्ती र लार्फ बस्ती नमुना बस्ती घोषणा गर्ने तयारी भइरहेको वडा अध्यक्ष बिद्धि बिकले बताउनु भयो ।

माथिल्लो दलित वस्ती

माथिल्लो दलित बस्ती कसरी हुदै छ नमुना ?

गाउँपालिकाले गतबर्ष ८२ घरधुरीमा शौचालय निर्माण गरेको छ । अध्यक्ष कोषबाट त्यहाँका प्रत्येक घरधुरीलाइ सोलोर वितरण गरिएको छ । यसै बर्ष गाउँपालिकाको एक घर एक धारा कार्यक्रम अन्तगत वाटर एड र किर्डाक नेपाल संगको साझेदारीमा खानेपानी घर घरमा पुग्ने छ । सुधारीको चुलो गाउँपालिकाले बितरण गर्न थालेको छ । दुर्सिखोला लघु जलबिद्युत आयोजना बाट त्यहाँका सबै घरधुरीमा बत्ती पु¥याउने तयारी भइरहेको वडा नं. ९ का अध्यक्ष टंक्कबहादुर बमले बताउनु भयो ।

लार्फमा के गर्दै छ प्रदेश सरकार ?

नमुना बस्ती विकासका लागि प्रदेश सरकारले छनोट गरेको पलाँता २ को लार्फ गाउँमा अहिले सम्म कुनै पनि काम अघि बढेको छैन । १ सय ५० घरधुरी रहेको लार्फ दलित समुदायको बस्ती हो ।