अन्तत अभियानको ३६औं दिनमा अभियन्ता भेडाको प्रधानमन्त्री ओली सँग भेट


कर्णाली प्रदेशमा भइरहेको भ्रष्टाचार, वेथिति, विकासमा ढिलासुस्ती, पर्यावरणीय असन्तुलन र पशु संरक्षण जस्ता ज्वलन्त विषयमा जनचेतना फैलाउने उद्देश्यले सुर्खेत वीरेन्द्रनगरबाट ३१ दिनसम्म खाली खुट्टा पैदल हिँडेर संघीय राजधानी काठमाडौँ आइपुगेका सामाजिक अभियन्ता नवराज बोहोरा “भेडा” ले अन्ततः आज आफ्नो अभियानको ३६औं दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गर्नुभएको छ।

भेटका क्रममा बोहोराले कर्णालीमा व्याप्त भ्रष्टाचार, विकासको बेथिति, शिक्षा–स्वास्थ्यको पहुँच, पशु अधिकार र वातावरण संरक्षणका विषयमा गम्भीर ध्यानाकर्षण गराउनुका साथै आफूले यात्रा क्रममा देखेका नानीहरूको उपचार अभाव, नागरिकहरूको वेदना र आवाज समेत प्रधानमन्त्री समक्ष प्रस्तुत गर्नुभएको थियो । अभियन्ता बोहोराले प्रधानमन्त्रीलाई भन्नुभयो, “कर्णालीको पीडा बुझिदिनुस्। हामी विकास मागिरहेका छौं, टाउको निहुराउने हैन ।”

प्रधानमन्त्रीको सन्देश: “पवित्र भाव बोकेर अघि बढ्नुस्”

प्रधानमन्त्री ओलीले बोहोराको अभियानको पवित्र उद्देश्यप्रति सम्मान प्रकट गर्दै शारीरिक पीडाबाट जोगिन सुझाव दिनुभयो । साथै उहाँले भन्नुभयो, “तपाईंको भावना पवित्र छ । तर शरीरलाई धेरै दुःख नदिई, स्वास्थ्य र परिवारको ख्याल गर्दै यो अभियानलाई सकारात्मक दिशातर्फ डोहोर्‍याउनुहोस् ।”

‘अब जुत्ता लगाउँछु, दाह्री काट्छु’

३१औं दिन प्रधानमन्त्रीसँग भेटको प्रयास असफल भएपछि बोहरालाई प्रधानमन्त्री कार्यालयबाट केवल ‘जुत्ता’ उपहार दिएर फर्काइएका थिए । तर, आजको भेटपछि उहाँले भन्नुभयो, “मेरो पहिलो चरणको अभियान सकिएको छ । अब म जुत्ता लगाउँछु, दाह्री काट्छु र नयाँ स्वरूपबाट फेरि अघि बढ्छु ।”

बोहोराको यो ऐतिहासिक यात्रा केवल व्यक्तिगत साहस होइन, कर्णालीका जनताको आवाज, आक्रोश र आशा बोकेको पदयात्रा थियो । जनतालाई प्रतिनिधित्व गर्दै उनले पुर्‍याएको यो सन्देशले सरकारलाई जिम्मेवार बनाउने एउटा सशक्त माध्यमको रूपमा लिइएको छ ।

स्मरण रहोस् । ३१औं दिनमा प्रधानमन्त्रीलाई भेट गर्न बालुवाटार हुँदै सिंहदरवार पुर्याइएका अभियन्ता नवराजलाई भेट नगराइ जुत्ता उपहार दिएर पठाइएपछि प्रधानमन्त्रीको चर्को आलोचाना हुँदै आएको थियो ।