भारतले गरेको सिमा अतिक्रमणको विरोधमा देशभर प्रदर्शन जारी


२३ कार्तिक, सुर्खेत । नेपाली भूमिलाई भारतले आफ्नो देशको नक्सामा गाभेको भन्दै सुर्खेतको वीरेन्द्रनगरमा शनिबार प्रदर्शन गरिएको छ ।

कर्णाली युथ पावरको आयोजनामा नागरिक समाज, विद्यार्थी, उद्योगी व्यवसायी, वुद्धिजीविले विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले कुटनीतिक रुपमा मिचिएका भूमि फिर्ता गर्नुपर्ने प्रदर्शनकारीले माग गरेका थिए ।

प्रदर्शनकारीहरुले नेपाली भूमि माथिको हस्तक्षेप विरुद्धको प्रदर्शनमा ‘गो व्याक ईन्डिया’ को नारा समेत लगाएका थिए ।

‘लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रै हो’ भन्दै प्रदर्शनकारीले भारतबाट मिचिएका सबै सिमाना निर्धारण गरी काँडे तारबार लगाउन समेत माग गरेका छन् ।

सिमा हस्तक्षेप हुँदै आएपनि भारतले नक्सामै नेपाली भूमि समेट्नु सार्वभौम राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको नागरिक समाजका अगुवाहरुले बताएका थिए ।

देश दुखिरहेको बेलामा हामी युवाहरु मौन हुन सक्दैनौँ, कर्णाली युथ पावरका संयोजक भिम थापाले भन्नुभयो । ‘राष्ट्र प्रेमको आवाज लिएर आन्दोलनमा आएका हौं उहाँले ‘देशका निम्ति युवाहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

सुर्खेत लगाएत देशभरका विभिन्न ठाउँमा भारतले गरेको सिमा अतिक्रमणको विरोधमा प्रदर्शन भईरहेका छन् ।