वीरेन्द्रनगरलाई प्रदेशको नमुना शहरको रुपमा विकास गर्नुपर्नेः मुख्यमन्त्री शाही


३० कार्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई नमुना सहर बनाउनुपर्ने बताउनुभएको छ ।

आज वीरेन्द्रनगरमा स्थापित जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सिंगो प्रदेशको प्रतिविम्व राजधानी शहरले दिने भएकोले वीरेन्द्रनगरलाई नमुना शहरको रुपमा विकास गर्नुपर्ने बताउनु भएको हो ।

उहाँले वीरेन्द्रनगरलाई नमुना सहरका रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक पहल गरिरहेको पनि जानकारी दिनुभयो । सडक, खानेपानी, विद्युत, सरसफाई तथा अन्य पूर्वाधार विकासका लागि दीर्घकालीन सोच सहित नयाँ गुरुयोजनाको आवश्यक रहेको उहाँको भनाई छ ।

मुख्यमन्त्री शाहीले अव्यवस्थित रुपमा भईरहेको जग्गाको खण्डीकरण र संरचना निर्माण कार्यलाई रोक्नुपर्ने बताउनुभयो । स्वच्छ, सफा र प्रदुषण रहित सहर निर्माणका लागि नागरिकको पनि उत्तरदायित्व रहेको बताउदै उहाँले जथाभावी फोहर फाल्ने बानीको अन्त गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री शाहीले वीरेन्द्रनगरमा रहेको खानेपानीको समस्या सामाधान गर्न प्रदेश सरकारले ५० करोड वजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले खानेपानी आपूर्तिको दीर्घकालीन सामाधान नहुँदासम्म विभिन्न उपायहरुको खोजी गरेर पनि तत्कालीन समस्या सामाधान गरिने बताउनुभयो । मुख्यमन्त्री शाहीले पछिल्लोपटकको चिन भ्रमणका क्रममा वीरेन्द्रनगरको व्यवस्थित सहरीकरण र चक्रपथ निर्माणका लािग आफुले गरेको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक रहेको जानकारी दिनुभयो ।