
१९ बैशाख, सुर्खेत । गत बुधवारदेखि सुर्खेतमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा धमाधम बजार अनुगमन गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अगुवाईमा मेडिकल, खाद्यान्न पसल, तरकारी पसल, सव्जी मण्डीलगायत अन्य पसलहरुको अनुगमन गरिएको हो ।
निषेधाज्ञाको बेलामा बजारमा कालोबजारी हुने, कृत्रिम अभाव सिर्जना गरी उपभोक्ताहरुलाई मर्कामा पार्ने काम हुने भएकोले अनुगमन गरिएको सहायक प्रजिअ महतले बताउनुभयो । उहाँले मेडिकलहरुमा मास्क सेनिटाइजरको प्रयोग, विक्री दर लगायतको वारेमा बुझिएको उल्लेख गर्नुभयो ।
यस्तै शनिवार विहान वीरेन्द्रनगरका १३ वटा दैनिक उपभोग्य बस्तुका पसल तथा तरकारी मण्डीहरुको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा विशेषगरी तेल, पिठोको मूल्य बृद्धि भएको पाइएको सहायक प्रजिअ महतले बताउनुभयो । उहाँले दैनिक उपभोग्य बस्तुहरु ल्याएको कुनैपनि गाडीहरु नरोकिएकोले कुनै व्यापारीले अस्वभाविक मूल्य बृद्धि गराएको पाइए कारबाही गरिने चेतावनी दिनुभयो । साथै व्यापारीहरुलाई स्वास्थ्यका मापदण्ड अपनाएर तोकिएको समयभित्र सामानहरु विक्रीवितरण गर्न सुझाव दिनुभयो।
यस्तै उहांले तरकारी मण्डी तथा खाद्य पसल व्यापारीहरुलाई दैनिकरुपमा उपभोग्य बस्तु तथा तरकारीहरुको मूल्य सूचीको प्रतिलिपि जिल्ला प्रशासनमा बुझाउन पनि निर्देशन दिनुभयो ।उहांले निषेधाज्ञाको समयमा पनि अनुगमन गर्दा उपभोक्ता तथा सर्वसाधारणहरुलाई व्यापारीहरुले ठगी गर्न नपाउने हुँदो बाँकी अन्य दिनमा पनि निरन्तरता दिइने बताउनुभयो।



Prawash Kumar Shakya । १८ बैशाख २०७८, शनिबार १५:१३ बजे