बराहतालमा जातिय भेदभाव विरुद्ध ऐक्यवद्धता



सुर्खेत, २० मंसिर । बराहताल गाउँपालिकास्थित सरोकारवालाहरुले जातिय भेदभाव तथा छुवाछुत विरुद्ध ऐक्यवद्धता जनाएका छन् ।

मानव अधिकार दिवसको सन्दर्भमा साझा आवाज कार्यक्रमले आयोजना गरेको ऐक्यवद्धता ¥यालीमा सहभागीहरुले ऐक्यवद्धता जनाएका हुन् ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतले सञ्चालन गरेको साझा आवाज परियोजनाले बिहीबार बराहताल गाउँपालिका वडा नं. ६ संगको समन्वयमा बुटीमा ¥यालीको आयोजना गरेको हो ।

¥यालीपछि कोणसभामा वडा अध्यक्ष खगेन्द्रदेव गिरीले जातिय भेदभाव तथा छुवाछुत अन्त्य गर्नका लागि योजना तथा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । ‘जातिय भेदभाव, छुवाछुत, छाउपडी जस्ता कूसंस्कार सामाजिक अपराध हुन’,उहाँले भन्नुभयो,‘यस्ता गलत संस्कारहरु हटाउनका लागि वडा कार्यालयले कुनै कसुर बाँकी राख्दैनौँ ।’ उहाँले जातिय भेदभाव तथा छुवाछुत अन्त्य गर्नका लागि साझा आवाज परियोजनासंग मिलेर जनचेतनामूलकदेखि आयआर्जनमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । जातिय भेदभाव तथा छुवाछुत अन्त्य नभएसम्म विकास र समृद्धि नहुने भन्दै यदि आफूमाथि भेदभाव तथा छुवाछुत भएको महशुस गरेमा कानुनी उपचार खोज्न सुझाव दिए ।

साझा आवाज परियोजनाका जिल्ला संयोजक इन्द्रबहादुर विश्वकर्माले जातिय भेदभाव तथा छुवाछुत गर्नु मानव अधिकार हनन् भएकाले यस्तो गरिएमा सहेर नवस्न सुझाव दिनुभयो । नेपाल जातिय भेदभाव तथा छुवाछुतमुक्त राष्ट्र घोषणा भइसकेको र जातिय भेदभाव तथा छुवाछुत कसुर सजायँ ऐन बनीसकेकाले यसको कार्यान्वयन गर्न स्थानीय जागरुकता देखाउनुपर्ने बताउनुभयो ।

बराहताल गाउँपालिका स्तरीय मानव अधिकार पैरवी सञ्जालका संयोजक कर्ण वि.क.ले जातिय भेदभाव तथा छुवाछुत न्यूनीकरण हुँदै गएको भएपनि अझैसम्म उन्मूलन हुन नसकेको बताउनुभयो । यसलाई उन्मूलन गर्नका लागि स्थानीय सरकारले विशेष कार्यक्रमहरु ल्याउन उहाँले माग गर्नुभयो ।

¥यालीमा सहभागी ८१ बर्षीय मीनबहादुर हमालले मानिस मानिस सबै एकै भएकाले भेदभाव र छुवाछुत गर्न नहुने बताउनुभयो । उहाँले समाजमा दलित, बालबालिका ज्येष्ठ नागरिक र महिलाहरुलाई कुनै न कुनै हिसाब भेदभाव गर्ने गरिएको भन्दै अब यसको अन्त्य हुनुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा वडा सदस्यहरु, मानव अधिकार पैरवी सञ्जालका सदस्यहरु, आमा समूह, तथा विभिन्न अगुवाहरुको सहभागिता रहेको थियो । जिल्लाकै विकटमा रहेको बुटीवस्तीमा पहिलो पटक मानव अधिकार दिवसको मनाइएको स्थानीय ८० बर्षीय तुला नेपालीले बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरु जिल्ला सदरमुकाममा मात्रै हुने गरेको आफूहरुले रेडियामो सुन्ने गरेकोमा गाउँमै आयोजना गरिएको ¥यालीमा सहभागी हुनपाउँदा खुशी लागेको बताउनुभयो ।

हरेक बर्ष डिसेम्बर १० तारिखका दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिएको छ । यसैको सन्दर्भ पारेर ¥यालीको आयोजना गरिएको हो । ¥यालीमा जातिय भेदभाव, छुवाछुत, लैंगीक हिंसा सम्बन्धी चेतनामूलक प्लेकार्डहरु प्रदर्शन गर्नुका साथै त्यससम्बन्धी कानुनी जानकारीमूलक हातेपुस्तिका समे वितरण गरिएको थियो ।