
भूकम्पका कारण घरबार गुमाएकाहरुलाई सरकारले दिने भनिएको अनुदान रकम अबको एक हप्ताभित्र पीडितको खातामा जम्मा भइसक्ने पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
अनुदान रकम उपलब्ध गराउने प्रक्रियामा आनाकानी गर्दै आएका ब्यांक र वित्तीय संस्थाहरु सेवा शुल्क लिएर पीडितसम्म अनुदान रकम पुर्याउन तयार भएपछि प्राधिकरणको यस्तो भनाइ आएको हो।
अनुदान सम्झौता भइसकेका करिब ४० हजार परिवार रकम पाउने प्रतिक्षामा छन् भने बांकी करिब साढे पाँच लाख पीडित परिवार सम्झौताको प्रक्रियामा छन्।
सम्झौता
भूकम्प पीडितहरुको पहिचान गरेर उनीहरुको नाम सार्वजनिक गरेसँगै पुनर्निर्माण प्राधिकरणले पीडितहरुसँग अनुदान सम्झौताको काम सुरु गरेको थियो।
तर अनुदान रकम उपलब्ध गराउने ब्यांक र वित्तीय सम्झौताको टुंगो नलाग्दा प्राधिकरणले उपलब्ध गराउने भनेको दुई लाख रुपैँया मध्ये पहिलो किस्तासमेत पीडितहरुले अहिलेसम्म पाउन सकेका छैनन्।
रकम उपलब्ध गराइदिन लामो समयदेखि आनाकानी गरिरहेका ब्यांक र वित्तीय संस्थाहरुको छाता संगठन र प्राधिकरणबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको छ।
योसँगै अब पीडितहरुले सम्झौता रकम पाउने बाटो खुलेको प्राधिकरणका प्रवक्ता राम थपलियाले बताए।
उनले भने,”जिल्ला विकास समितिले कोष तथा लेखा नियन्त्रण कार्यालयमा चेक काट्नेछन र ब्यांकहरुले विवरणको आधारमा पुष्टि गरेर उहाँहरुको खाता सक्रिय गर्नुहुनेछ। यसरी खाता खोल्नका लागि भौतिक रुपमा पीडितहरु जानु पर्ने छैन। प्राधिकरणले उपलब्ध गराएको नामावलीको आधारमा शून्य ब्यालेन्सको खाता खोलिदिनु हुनेछ।”
यसवापत प्राधिकरणले ब्यांक र वित्तीय संस्थालाई निश्चित सेवा शुल्क दिने बताइएको छ।
छिटो
समझदारीपत्रमा अनुदान दिनुपर्ने सेवाहरु उनीहरुलाई बाध्यकारी हुनेछ।
सोही अनुसार सम्झौतापत्र तयार पार्ने काम भइरहेकोले पीडितसम्म रकम पुग्न लामो समय नलाग्ने प्रवक्ता थपलियाले बताए।
उनले भने,”छिटो नै यो सुरु हुन्छ । ढिलोमा एकहप्ताभित्र सबै ठाँउमा रकम वितरणको काम सुरु हुन्छ भन्नेमा प्राधिकरण विश्वस्त छ।”
हाल यो सेवा ब्यांक र वित्तीय संस्थाका शाखाहरुबाट उपलब्ध हुने बताइएको छ।
अर्को चरणमा बैंकका शाखा नभएका ठाउँमा पनि ब्याकिंग सेवाका लागि पहल गरिने प्राधिकरणले जनाएको छ।
भूकम्पका कारण करिब ६ लाख परिवार घरबारविहीन बनेको तथ्याङ्क छ।
ती सबैलाई घर बनाउन दुई लाख रुपैँयासम्म अनुदान र त्यस बाहेक सहुलियत ऋण उपलब्ध गराउने घोषणा सरकारले गरिसकेको छ।
साभारः विविसी



Prawash Kumar Shakya । १५ जेष्ठ २०७३, शनिबार ०४:१० बजे