एसईई: परीक्षा केन्द्र पुगेका प्रश्नपत्रको सुरक्षाको चिन्ता


६ चैत्र । आजबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित भएपछि परीक्षामा सहभागी हुनका लागि तयार भएका विद्यार्थीहरू निराश भएका छन् ।

विषेशगरि परीक्षा केन्द्रको नजिक डेरा लिएर बसिसकेका विद्यार्थीहरूले तयारी अनुसार परीक्षामा सहभागी हुन नपाएको भन्दै दुखेसो पोखेका छन्। उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बुधवार एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो।

यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको थियो। टाढा टाढाबाट भाडामा कोठा लिएर बस्न थालेको भए पनि घर फर्किनका लागि अब त्यतिकै हतार गर्नु पर्ने अवस्था सिर्जना भएको तिला गाउँपालिकाको वडा नम्बर ३ मा रहेको सरस्वती माध्यमिक विद्यालय केन्द्रबाट परीक्षामा सहभागी हुन आएकी छात्रा मनीषा शाहीले बताइन् । परीक्षामा सहभागी हुने तयारी अनुसार कोठा भाडामा बसिसकेको अवस्थामा अन्तिममा आएर परीक्षा रोकिएको समाचार सुन्दा निकै पिर लागेको उनले बताइन् ।

“परीक्षा हुनु भन्दा एक हप्ता अगाडि सरकारले यस्तो निर्णय गरेको भए हामीले दोहोरो दु:ख खेप्नु पर्ने थिएन,” उनले भनिन। अन्तिममा आएर परीक्षा रोकिँदा आफूहरूलाई झन् समस्या थपिएको जुम्लाकी अर्की परीक्षार्थी बसन्ती चौलागाँइले बताइन्। आफू मात्र नभएर परीक्षा दिने ठाउँसम्म पुर्‍याउन आएका अभिभावक समेत निराश भएर घर फर्कनु परेको विद्यार्थीहरूले बताएका छन् ।

समाचार नसुनेका कतिपय विद्यार्थीहरू परीक्षा केन्द्रमा आइरहेका हुनाले उनीहरूलाई सरकारले गरेको निर्णयको विषयमा जानकारी गराएर घर फर्काउने काम भइरहेको चन्दननाथ माध्यमिक विद्यालयस्थित परीक्षा केन्द्रका केन्द्राअध्यक्ष मीनराज शर्माले बताए । विविसीबाट