कर्णाली माओवादीको आधारशिला क्षेत्रः प्रचण्ड


फोटोः सुरेश आचार्य (रासस)

१७ भाद्र, सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा सिट बाँडफाँटको विषयमा सत्तारुढ गठबन्धनभित्र असहमति नभएको बताउनुभएको छ ।

आज (शुक्रवार) सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले बिहीवार लगभग गठबन्धनमा कुरो मिलिसकेको दावी गर्नुभएको हो । उहाँले भन्नुभयो “संख्यामात्र नभई प्रदेश र क्षेत्र समेत एकैपटक टुंगोमा पुर्याउने गरी अघि बढिएको छ त्यसैले गठबन्धनभित्र कुनै समस्या र असहमति छैन । प्रभावकारी कसरी बनाउने भन्नेतिर नै छलफल केन्द्रित रहेको छ । भने प्रदेश र केन्द्रमा सन्तुलन मिलाएर जाने र हामी एक्लै जित्ने ठाउँमा अन्य गठबन्धनका दलहरुलाई समायोजन गरेर लाने तयारी पनि भएको छ ।

प्रचण्डले आउँदो निर्वाचनमा आफू चितवनको क्षेत्र नम्बर ३ बाट उम्मेद्वारी दिने बताउनुभयो । उहाँले कर्णाली माओवादीको आधारशिला क्षेत्र भएकाले प्रदेश सरकारको सञ्चालनसँगै केन्द्रमा सम्मानजनक उपस्थितिका लागि सिट बाँडफाँट हुने बताउनुभयो ।