भारतमा प्रधानमन्त्री ओलीको विवाह वर्षगाँठ पनि मनाइयो


काठमाडौं, फागुन १० – भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्लीमा जन्मदिनसँगै आफ्नो विवाह वर्षगाँठ पनि मनाउनुभएको छ ।  राधिका शाक्यसँग २८ वर्षअघि विवाह गर्नुभएका ओलीले सोमबार आफ्नो विवाहको वर्षगाँठ मनाउनुभएको हो । व्यापारीसँग सोमबार बेलुकी भएको अन्तर्क्रियामा उहाँले आफ्नो विवाहको २८ औँ वर्षगाँठ भएको बताउनु भयो । 
दिल्लीको होटल ताजमा व्यापारिक समुदायको अन्तर्क्रियासँगै बिहान ओलीको जन्मदिन पनि मनाइएको थियो । जन्मदिनको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीलाई बधाईं तथा शुभकामना दिनुभएको थियो । राष्ट्रपति भवनमा प्रधानमन्त्री मोदीले भारतका आयुष राज्यमन्त्री श्रीपद यस्व नायक र राष्ट्रिय सुरक्षा सल्लाहकार श्री अजित डोभलमार्फत प्रधानमन्त्री ओलीलाई पुष्प गुच्छा पठाई शुभकामना र बधाई दिनुभएको हो ।
यस्तै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिँदै उहाँको सु-स्वास्थ्य र नेपालको सेवामा सफलताको कामना पनि गर्नुभयो । ओलीको जन्मदिन अंग्रेजी तारिख अनुसार फेब्रुअरी २२ तारिख अर्थात आज हो । तर ओलीले यसअघि भोलीको दिन अर्थात फागुन ११ गते आफ्नो जन्मदिन मनाउँदै आउनु भएको थियो ।
साभारः उज्यालो अनलाइन