पछिल्लो चरणको लकडाउनमा प्रहरी सक्रियता बढ्यो (भिडियो सहित)


१७ बैशाख, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)ले देश लकडाउनमा छ । पछिल्लो पटक बैशाख २५ गते सम्म लकडाउन थपिए संगै यसपटक प्रहरी सक्रियता बढेको छ ।

देशमा लकडाउनको धेरै उल्लंघन हुँदैजाँदा गृह मन्त्रालयको निर्देशन अनुसार प्रहरीको सक्रियता बढेको हो । पछिल्लो समय विभिन्न जिल्लामा घर जान निस्किएका  नागरिकहरु उद्धारको गतिविधि बढेपछि संक्रमणको जोखिम बढेको जनगुनासो व्यापक भएपछि गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई लकडाउन पालनामा कडाई गर्न परिपत्र गरेको थियो ।

परिपत्र जारी भएसंग कर्णाली प्रदेशको सुर्खेतमा पनि प्रहरीले लकडाउन उलङ्घन गर्ने, विनापास सवारी चलाउनेलाई नियन्त्रणमा लिने गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी गोपाल रायमाझीले जानकारी दिनुभएको छ । चैत ११ गते देखि जारी लकडाउनको यो अवधि सम्म ४ सय सवारी साधनहरु नियन्त्रणमा लिएको बताउदै उहाँले लकडाउन उल्लंघन गर्ने करिव १६ सय नागरिकहरुलाई कार्वाहि गरेको जानकारी दिनुभयो ।

यस्तै कोरोना संक्रमण रोक्नका लागि भइरहेको लकडाउन उल्लंघन गरेर सडक निर्माणको काममा प्रयोग गरिएका निर्माणका साधनहरुलाई प्रहरीले मंगलबार बेलुका नियन्त्रणमा लिएको छ । मुलपानी–फलाटे–रानीघाट सडक निर्माणमा प्रयोग गरिएका दुई वटा स्काभेटर, दुई वटा जेसिवी, दुई वटा टिप्पर र एक बोलेरो नियन्त्रणमा लिइएको सूचना अधिकारी रायमाझीले जानकारी दिनुभयो ।

यो लकडाउनका वेला अनुमति विना कुनैपनि काम गर्न नपाइने भएकोले लकडाउनलाई उल्लंघन गरि मानिसको जमात गरि निर्माण कार्य गरेको पाइएकाले हामी सवारी साधन नियन्त्रणमा लिएका हौ । सुचना अधिकारी रायमाझी भन्नुहुन्छ ।