कोभिड–१९को नियन्त्रणमा नागरिक समाज र सरकारको सहकार्यमा जोड



३१ बैशाख, विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा नागरिक समाज र सरकारको सहकार्यमा जोड दिइएको छ ।

आज बुधबार वीरेन्द्रनगरमा आयोजना गरिएको नागरिक समाजको भेलाले कोरोना संक्रमण विरुद्ध सरकारी निकायसँग सहकार्यका लागि कार्ययोजना निर्माण गर्ने निर्णय गरेको हो ।

नागरिक समाजका प्रतिनिधिले सामाजिक संघसंस्थासँग समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन तीनै तहका सरकारलाई आग्रह गरेका छन् । भेलापछि नागरिक अगुवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल, वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकाल र सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलगायतलाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।

भेलाले राहत वितरणलाई प्रभावकारी गराउन र वास्तविक मजदुर तथा विपन्नहरुलाई मात्र राहत वितरण गर्न माग गरेको गैरसरकारी संस्था महासंघका अध्यक्ष घनश्याम केसीले बताउनुभयो । उहाँले भारत लगाएत विभिन्न मुलुकमा अलपत्र परेका नागरिकको उद्दार तथा राहतका लागि तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने औल्याउनुभयो ।

त्यस्तै वैठकले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा विपद् न्यूनीकरण तथा व्यवस्थापन, स्वास्थ्य, कृषि र शिक्षालाई जोड दिन आग्रह गरेको छ । सबै तहका सरकारले देशको प्रतिकूल अवस्थापछि कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन आवश्यक रहेको नागरिक अगुवा खिमबहादुर रेग्मीले बताउनुभयो । उहाँले अत्यावश्यकीय सेवाको सहज उपलव्धता गराउन माग गर्नुभयो ।

वैठकले बजारको प्रभावकारी अनुगमन गरी कृतिम अभाव र महंगी नियन्त्रण गर्न प्रदेश तथा स्थानीय सरकारसँग माग गरेको अधिकारकर्मी पवित्रा शाहीले बताउनुभयो । उहाँका अनुसार स्थानीय तथा जिल्लास्तरमा निर्माण भएका क्वारेन्टाइनलाई व्यवस्थित गर्न र बाहिरबाट आएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नसमेत सरकारको ध्यानाकर्षण गराइएको छ ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावललाई ज्ञापनपत्र बुझाउ“दै गैरसरकारी संस्था महासंघ, सुर्खेतका अध्यक्ष घनश्याम केसी ।