मुख्यमन्त्री कँडेललेद्वारा प्रधानमन्त्रीसँग विभिन्न माग प्रस्तुत


प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सँग कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका विभिन्न मागहरु राख्नुभएको छ । मुख्यमन्त्री कँडेलले आज प्रधानमन्त्री शाहले सातै प्रदेशका मुख्यमन्त्रीहरु सँग गर्नुभएको छलफल कार्यक्रममा माग राख्नुभएको हो ।

मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशको पूर्वाधार निर्माणका सन्दर्भमा प्रदेशका विभिन्न विषयहरुलाई संघीय सरकारले संवोधन गर्न माग गर्नुभएको छ । उहाँले बुँदागत रुप कर्णालीको विकासलागि मागहरुलाई बैठकमा पेश गर्नुभएको छ ।

मुख्यमन्त्री कँडेलले तीन तहका सरकारबीचको समन्वय, सहकार्य र सहकारिताको आधारबाटै सुशासन र मुलुकको समृद्धि हासिल हुने बताउँदै संघीय सरकारको त्यसमा महत्वपूर्ण भुमिका हुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो “संविधान प्रदत तीन तहको सरकारबीचको समन्वय र सहकार्यबाटै नागरिका अपेक्षा पुरा हुन सक्दछन् । सुशासन, सामाजिक न्याय, समृद्धि र नागरिकको अपेक्षा पुरा गरी समृद्धि राष्ट्र निर्माणमा हामी संघीय सरकारसँग मिलेर काम गर्न चाहान्छौँ ।

मुख्यमन्त्री कँडेलले प्रस्तुत गर्नुभएका मागहरुः 

१) कर्णाली करिडोर ( सुर्खेत —हिल्सा) सडक स्तरोन्नती ।
२) भेरि करिडोर थप ट्रयाक ओपन तथा स्तरोन्नती ।
३ं) कोहलपुर —सुर्खेत सडक विस्तार ।
४) सुर्खेत विमानस्थल विस्तार तथा त्यहाँबाट कर्णालीमा नियमित हवाई सेवा ।
५) नेपालको उत्तरी सीमा नाका हुम्लाको हिल्सामा क्वारेन्टाइन स्थापना तथा उत्तरी सीमामा नियमित सुरक्षा व्यवस्था । विकट तथा दुर्गममा सुरक्षाकर्मीका लागि पूर्वाधार सहित साधन श्रोतको व्यवस्था।
६) सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि गरिएका प्रयासलाई कार्यान्वयन ।
७) दैलेखको जलजलेस्थित ग्याँस / पेट्रोलिय पर्दाथको उत्पादन ।
८) कर्णालीमा अत्याधुनिक जडीबुटी प्रशोधनको केन्द्रको स्थापना।
९) माथिल्लो कर्णाली लगायत सम्भाव्यता अध्ययन पुरा भएका जलविद्युत आयोजनाहरुको निर्माणमा पहलकदमी लिनुपर्ने । कतिपय जलविद्युत आयोजनाहरुको निर्माण नेपाल सरकार आफैले अघि बढाउनुपर्ने ।
१०) पर्यटकीय सम्भावना भएको नाग्मा-गमगढी-रारा सडकको स्तरोन्नती ।
११) कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रलाई नेपालगन्जबाट सुर्खेतमा स्थानान्तरण ।