स्वास्थ्य शिक्षाको क्षेत्रमा व्याप्त बेथिति विरुद्ध लगातार आवाज उठाउदैं आएका डा. गोविन्द केसीले आठौं पटक अनशन शुरु गरेका छन्।
मुख्य चारवटा माग राखेका डाक्टर केसीले माग पूरा नभएसम्म अनशन नतोड्ने बताएका छन्।
यसपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई संसदले महाअभियोग लगाउनुपर्ने एउटा माग थप छ।
यसअघि सात पटकसम्म लगभग उस्तै माग राखेर अनशन बसेका डाक्टर केसीको आइतवारको अनशन भने अलि भिन्न देखियो।
विरोध/समर्थन
अनशनस्थल शिक्षण अस्पताल परिसर बाहिर उनको समर्थन र विरोधमा दुईथरीले नाराबाजी गरेका थिए।
अनशनमा बस्नु अघि उनले आफ्ना चार बुँदे माग पढेर सुनाएका थिए।
चिकित्सा शिक्षा ऐनको मस्यौदामा सुधार, अख्तियार प्रमुख लोकमानसिंह कार्की र अर्का एक आयुक्तमाथि महाअभियोग, माथेमा प्रतिवेदन विपरित स्वास्थ विज्ञान प्रतिष्ठान काठमान्डूमा खोल्ने भनेर संसदमा प्रस्तावित विधेयक फिर्ता र सात पटक अनशन बस्दा गरिएका सम्झौता कायम गरियोस् भन्ने उनका माग छन्।
उनले भने, “यदि सांसदहरु जनताप्रति इमान्दार छ भने यो माग पूरा हुन्छ। जनताले उनीहरुलाई त्यसो गर्न वाध्य बनाउने छन। जवसम्म माग पूरा हुंदैन अनशन जारी नै रहनेछ।”
शिक्षण अस्पतालभित्र उनले त्यसो भनिरहँदा अस्पताल हाता बाहिर उनको समर्थनमा चिकित्सा क्षेत्रका विद्यार्थीहरु र अन्य कतिपय देखिएका थिए।
एमबीबीएसका छात्र एक विद्यार्थी शिव भट्टराईले केसीको समर्थन गर्दै भने, “उनको एउटा मूख्य माग निशुल्क चिकित्सा शिक्षा हो। त्यसले गर्दा डाक्टर भएपछि लगानी उठाउनुपर्छ भन्ने मानसिकता हुँदैन।”
निर्देशन
उहाँको माग राख्न पाउने अधिकारको म सम्मान गर्छु। तर त्यो माग कानुन र नियमको परिधीभित्र हुनुपर्छ, कानुन विपरीत अस्पतालको प्राङ्गणभित्र अनशन बस्न पाइँदैन।
डा. केसीको विरोध गरिरहेका केही डाक्टरले भने ‘अस्पताल परिसरभित्र अनशन बस्न पाइंदैन’ लेखिएका ब्यानर बोकेका थिए।
विरोध गर्ने समूहका एकजना डाक्टर रामकुमार अधिकारी भन्छन्, “उहाँको माग राख्न पाउने अधिकारको म सम्मान गर्छु। तर त्यो माग कानुन र नियमको परिधीभित्र हुनुपर्छ, कानुन विपरीत अस्पतालको प्राङ्गणभित्र अनशन बस्न पाइँदैन।”
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालयले शनिवार विज्ञप्ती जारी गर्दै डा. केसीलाई अस्पताल हातामा अनशन नबस्न आग्रह गरेको तथा उनको समर्थन नगर्न कर्मचारी एवं विद्यार्थीलाई निर्देशन दिएको थियो।
तापनि समर्थनमा थुप्रै विद्यार्थी देखिएका छन्।
सामाजिक सञ्जालमा उनले जोडदार समर्थन प्राप्त गरेको देखिएको छ।
साभारः विविसी






Prawash Kumar Shakya । २६ असार २०७३, आईतवार १६:५४ बजे