काँग्रेसलाई अब समय अनुसार परिवर्तन गर्न आवश्यकः नेता सिंह


२६ जेठ, सुर्खेत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई अब समय अनुसार परिबर्तन गर्न आवश्यक रहेको बताउनु भएको छ ।

नेपाली कांग्रेस सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिहँले जनताको चहाना अनुसार पार्टीलाई रुपान्तरण गर्नु आवश्यक रहेको औल्याउनु भयो । उहाँले विगतमा काँग्रेसले ठुलो-ठ्रलो उपलब्धी हासील गरेको भएपनि विगतको इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले अव विश्वास गर्न नसक्ने ठोकुवा गर्नुभयो ।

उहाँले पार्टीभित्र केही चुनौती भएपनि अव त्यसलाई समाधान गरेर संस्थागत रुपमा पार्टीलाई संञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो । पुर्व महामन्त्री समेत रहनुभएका नेता सिहँले जागरण अभियानका क्रममा कार्यकर्ताहरुले कांग्रेसलाई संस्थागत सुधार गर्नुपर्ने, पार्टीको आन्तरिक विवाद मेटाउनुपर्ने सुझावहरु दिएको भन्दै नेतृत्व तहले गम्भीर भएर सोच्नुपर्ने समय आएको बताउनुभयो । उहाँले बर्तमान सरकारले संविधान विपरित एक पछि अर्को कान्ड गर्दै विभिन्न विधेयकहरु ल्याएर अधिनायकवाद तर्फ उन्नमुख भएको आरोप लगाउनुभयो ।

नेता सिहँले सरकारले संघियता संस्थागत गराउन तर्फ कुनै चासो नदेखाएको आरोप लगाउदै प्रदेश तहको बजेटपनि घटाउदै गएको भन्दै आपत्ती जनाउनुभयो । कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानी, पूर्व मन्त्री खड्गबहादुर बस्याल, पार्टीका पूर्व सभापति गोविन्दबहादुर मल्लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।