बनेपा, १२ फागुन । जिल्ला अदालत काभ्रेपलाञ्चोकले अदालतमा हाजिर नभएको भन्दै २ वर्षअघि ‘मुल्तबी’मा राखिएको मुद्दा ब्युँताएको छ । द्वन्द्वकालमा किशोरी हत्याको आरोप लागेका नेपाली सेनाका ४ जनालाई पटकपटक पत्र काट्दासमेत हाजिर नभएकाले सो मुद्दा मुल्तबीमा राखेर काराबाही अगाडि बढाइएको हो ।पीडितपक्षले दोषीमाथि कारबाही नभएको उल्लेख गर्दै पुनः निवेदन दिएकाले यो मुद्दा मुल्तबीमा राखिएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका स्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनले मुद्दाको टुंगो नलागुन्जेल प्रक्रिया अघि बढ्नेसमेत जानकारी दिए । सशस्त्र द्वन्द्वका क्रममा नेपाली सेनाले चरम यातना दिई हत्या गरिएकी काभ्रेपलाञ्चोकको खरेलथोक गाविसकी १५ वर्षीया मैना सुनारको मुद्दा अदालतले ०७० साल असोज पहिलो साता प्रतिवादी हाजिर नभएको कारण देखाउँदै २ वर्षका लागि मुल्तबीमा राखेको थियो । तत्कालीन जिल्ला न्यायाधीश ईश्वरराज आचार्यको इजलासले यस्तो आदेश गरेको थियो । यसपछि न्यायाधीश अनवी मैनाली भट्टराईको इजलासले गत २८ पुसमा मुल्तबीको म्याद सकिएको ४ महिनापछि मुद्दा ब्यँुताएका हुन् ।
आरोपी सैनिक अधिकारी पटकपटक उपस्थित हुन पत्राचार तथा ‘वारेन्ट’जारी गरे पनि अदालतमा हाजिर नभएकाले उनीहरूको अंश २ वर्षका लागि रोक्का राख्न आदेश दिएर मुद्दा मुल्तबीमा राखिएको थियो । जिल्ला सरकारी वकिल गोविन्द उपाध्यायले प्रतिवेदनमा आरोपी फरारको सूचीमै रहेको भन्दै अब अदालतले एकपक्षीय रूपमै मुद्दा अघि बढाउने जानकारी दिएका छन् ।
उनले २ वर्षसम्म दोषी आफैँ अदातलमा उपस्थित भएमा वा प्रहरीले पक्राउ गरी अदालतमा हाजिर गराएमा मुद्दा पुनः सुरु हुने बताए । खरेलथोक गाविस–६ भगवती मावि कक्षा ९ मा अध्ययनरत मैनालाई ५ फागुन ०६० मा सेनाले घरबाटै पक्राउ गरी पाँचखालस्थित तत्कालीन वीरेन्द्र सैनिक शान्ति तालिम केन्द्रमा चर्को यातना दिई हत्या गरेको थियो । उनकी आमा देवी सुनुवारले १७ माघ ०६४मा कर्तव्य ज्यान मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १८ अन्तर्गत जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काभ्रेपलाञ्चोकमा ४ जना सैनिक अधिकारीविरुद्ध अभियोगपत्र दर्ता गराएकी थिइन् । देवीले केन्द्रमा कार्यरत महासेनानी बबी खत्री तथा सहसेनानी सुनीलप्रसाद अधिकारी, अमित पुन र निरञ्जन बस्नेतविरुद्ध अभियोगपत्रसँगै एकसय ३३ वटा सबुतप्रमाण संलग्न राखेकी थिइन् ।
मैना स्कुल जाँदै गर्दा १५ जनाको समूहमा रहेका सुरक्षाकर्मीले ‘विद्रोही माओवादी’ भएको कारण देखाउँदै अपहरणको शैलीमा नियन्त्रणमा लिएर केन्द्रमा ल्याएर स्तनमा करेन्ट लगाएर चरम यातना दिई हत्या गरेको र गोप्यरूपमा तालिम केन्द्रकै घेराभित्र रहेको जंगलमा गाडेको नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संघसंस्थाको दबाबपछि नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रममा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयोग र राष्ट्रिय मानवअधिकार आयोगको प्राविधिक सहयोगमा मैनाको शव ९ चैत ०६३ मा उत्खनन गर्दा कंकाल फेला परेको थियो । मैनाको शव उत्खननपछि भारतमा डिएनए परीक्षणसमेत भएको थियो ।
‘सोधपुछको वैकल्पिक उपाय हुँदाहुँदै’ किशोरी मैनालाई चरम यातना दिएर हत्या गरेको तत्कालीन उपरथी किरणशमशेर जबराको नेतृत्वको सैनिक अदालतकै ‘कोर्ट अफ इन्क्वायरी बोर्ड’ले समेत निष्कर्ष निकालेको थियो । नेपाली सेनाले हत्या अभियोग लागेकालाई सेवाबाट बर्खास्त गर्दै अदालतको पत्राचारपछि प्रहरीलाई बुझाउनुपर्ने प्रावधान छ । हत्याको नियत नदेखिए पनि अनुसन्धान र मृत्युपछिको ‘प्रकृति र प्रक्रिया’ गलत भएको ठहर गर्दै सैनिक अदालतले महासेनानी खत्री, सहसेनानीद्वय अधिकारी र पुनलाई दोषी ठहर गरी ६ भदौ ०६२मा महिना कैद सजाय दिएको उल्लेख ग¥यो । सैनिक अदालतले महासेनानी खत्रीलाई २ वर्ष तथा सहसेनानी अधिकारी र पुनलाई १÷१ वर्ष बढुवा रोक्का गरेको जनाएको थियो ।
अदालतले काठमाडौं–३३ ज्ञानेश्वर घर भएका महासेनानी खत्रीको ललितपुर लेले गाविस–९ स्थित २ रोपनी १४ आनामध्ये उनको भागमा पर्न आउने ९ आना जग्गा १६ फागुन ०६७ मा, सहसेनानी अधिकारीको काठमाडौं–३ बाँसघारीको २ पैसा १ दाम जग्गा १५ चैत ०६७ मा रोक्का गरेको थियो । त्यसैगरी रूपन्देही जिल्ला आनन्दवन गाविस–३ घर भएका सहसेनानी अमित पुनको परिवार त्यहाँबाट वर्षौं पहिले बसाइँसराइ भएको भन्दै प्रहरीबाट सर्जमिन मुचुल्का भएको थियो । दोलखा जिल्ला मकैबारी गाविस–९ घर भई सेनानी बस्नेतको परिवार पनि २० वर्ष पहिल्यै बसाइँसराइ भएको भनी १६ वैशाख ०७० मा सर्जमिन गरिएको छ । महासेनानी खत्रीले भने १३ जेठ ०६६मा अवकाश पाइसकेका छन् भने सहसेनानीद्वय अधिकारी २० कात्तिक ०६३ मा र पुनलाई सोही वर्ष १५ वैशाखमा सेवाबाट राजीनामा गरी अमेरिका गएका थिए ।
साभारः सौर्य दैनिक



Milan Shrestha । १३ फाल्गुन २०७२, बिहीबार १५:५१ बजे