सामाजिक कार्यमा “लक्ष्मण”


२१ साउन, सुर्खेत । भनिन्छ नि मानिसलाई काम गर्न मन हुनुपर्छ मन भयो भने जस्तो पनि काम गर्न सकिन्छ । चाहे त्यो सामाजिक होस या भौतिक ।

अहिलेको समयमा सुर्खेतलाई आफ्नो कर्मथलो बनाइ सामाजिक काममा अग्रसर हुनुहुन्छ यूवा व्यावसायी लक्ष्मण कँडेल । तत्कालिन गुल्मी दिगाम गाविस २ श्रृंगामा बुवा विष्णु र आमा लक्ष्मी कँडेलका माइलो सुपुत्रकोरुपमा जन्मिनु भएका कँडेल व्यावसायमा मात्र नभएर सामाजिक काममा पनि त्यतिकै होमिनु भएको छ ।

कँडेलले सामाजकि कार्य कै शिलशिलामा आफ्नो व्यापारिक संस्था असिम अटो पार्ट्सबाट पनि छात्रबृति दिँदै आइरहनु भएको छ । एसएलसी (एसइइ) सर्बोत्तम अंक ल्याउने आफ्ना ग्राहकका छोराछोरीलाई उहाँले छात्रबृति दिइरहनुभएको छ ।

कँडेल अहिले सुर्खेत उद्योग बाणिज्य संघको महासचिव हुनुहुन्छ । उहाँले एउटा अठोट लिनुभएको छ संघमा हुने बैठक भत्ताहरु संघमा नै जम्मा गरिदिने र त्यस्तै अन्य कुनै संघसंस्थाबाट प्राप्त हुने भत्ताहरुलाई सामाजिक कार्यमा लगाउने । यसैवीच केही दिन अगाडी विभिन्न कार्यक्रममा जाँदा आफू प्राप्त गरेको भत्ता १३ हजार ९ सय रुपैया उहाँले आज दृष्टिविहिनहरुको क्षेत्रमा काम गरिरहेको संस्था दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतलाई प्रदान गर्नुभएको छ ।

सहयोग रकम ग्रहण गर्दै केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले मनकारीदाता लक्ष्मण कँडेललाई धन्यवाद ज्ञापन गर्दै अहिलेको यो संकटको समयमा प्राप्त सहयोगले ठूलो सहयोग हुने बताउँनुभयो । उहाँले भन्नुभयो ‘सम्पूर्ण मनकारीहरुलाई सहयोगलागि आग्रह पनि गर्दछु ।’