आन्दोलित नर्सहरुद्धारा जिल्ला प्रशासन कार्यालयमा नाराबाजी ।


मिलन श्रेष्ठ
सुर्खेत, ०४ माघ ।
आफ्ना सेवासुविधा तथा स्तर बृद्धिको माग गर्दै चरणवद्ध आन्दोलनमा उत्रिएका सुर्खेतका नर्सहरुले विहीवार(आज) दिनभर जिल्ला प्रशासन कार्यालयमा नाराबाजी गरेका छन् । मंगलगढी चोकबाट ¥याली सुरु गरी उनीहरुले जिल्ला प्रशासन कार्यालय परिसर बाहिर नारावाजी गरेका हुन् ।
अध्ययन विदा पाउनुपर्ने, निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई सरकारी सरह सुविधाहरु उपलव्ध गराउनुपर्ने लगायतका नाराहरु उनीहरुले लगाएका थिए ।
नेपाल नर्सिङ संघका केन्द्रीय सदस्य दिपा भट्टराईले आफ्ना ११ सूत्रीय मागहरु लिएर गत पुस २६ गतेदेखि नर्सहरु आन्दोलनमा उत्रिएको र अहिलेसम्म ती मागहरु पूरा नभएको बताइन् । उनले माघ ६ गतेसम्म पनि मागहरु पूरा नभए चौवीसै घन्टा आन्दोलनमा उत्रिएर सेवा ठप्प पार्ने चेतावनी समेत दिइन् ।
नर्सहरुको आन्दोलनलाई नेपाल स्वास्थ्यकर्मी संघसमेत समर्थन गरेको छ । संघका अध्यक्ष राजेशकुमार बुढा, उपाध्यक्ष उदय थापाले नर्सहरुको मागलाई छिटो सम्बोधन गरी सेवालाई सहज बनाउन जोड दिएका छन् ।
साभारः देउतीखबर ।