माओवादी केन्द्र सरकारबाट बाहिर


prachanda4विगतमा आफूहरुसंग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारलाई दिदैं आएको समर्थन फिर्ता लिएको छ।

राजधानीमा पत्रकार सम्मेलन गरी उक्त पार्टीले गत बैशाखमा एमालेसंग भएको ९ बुंदे सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्री गम्भीर नभएको भन्दै आफ्नो पार्टीबाट सरकारमा मन्त्री रहेकाहरुलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिएको हो।

त्यतिबेला कांग्रेसको समर्थनमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने कसरतमा जुटेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसंग ९ बुंदे सम्झौता गरेपछि ओली नेतृत्वको सरकार जोगिएको थियो।

तर दुई महिनापछि आएर त्यही सम्झौता कार्यान्वयन नगरेको भन्दै प्रचण्डले समर्थन फिर्ता लिएपछि वर्तमान सरकार विघटनको संघारमा पुगेको छ।

दुई सत्तासाझेदार दलबीच सरकारको नेतृत्व परिवर्तनका लागि भएको भनिएको ‘भद्र सहमति’ पछिल्लो समय तिक्तताको कारण बनेको देखियो।

बजेटसम्म ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने र त्यसपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने अलिखित सहमति भएको माओवादी केन्द्रले बताउंदै आएको छ।

तर त्यसलाई एमालेका कतिपय नेता र प्रधानमन्त्री ओलीले अस्वीकार गर्दै आएका छन्।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सरकारमा प्रचण्डलाई समर्थन गर्ने नेपाली कांग्रेसको पत्र आइसकेको बताएका छन्।

साभारः विविसी