सबैकुरालाई सिष्टम अनुसार काम गरे सफल भइन्छः नगरप्रमुख सुवेदी (भिडियोसहित)


१३ माघ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालय सुर्खेतको महिला सामूहिक कृषि खेती कार्यक्रमको आज उद्घाटन गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगरप्रमुख देवकुमार सुबेदीले एक समारोहका वीच कृषि खेती कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सुवेदीले वीरेन्द्रनगरको यो स्थानमा कृषिकालागि १ विगाह जग्गा प्राप्त गर्नु नै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो “वडाले गरिदिएको छ अनुगमन हुनेवेला सम्म मात्र काम गर्ने भए आजदेखि छोडी दिनुस । त्यसैले मेहेनतका साथ काम गर्नुहोस, सबैकुरालाई सिष्टम अनुसार काम गरे सफल भइन्छ ।”

“तपाईहरुको यही वडामा कृषि अध्ययन हुने विद्याल पनि भएकोले यो खेतीलाई अध्ययन केन्द्र पनि बनाउने तर्फअग्रसर हुनुहोस ।” नगरप्रमुख सुवेदीले भन्नुभयो ।

त्यस्तै कार्यक्रममा ९ नं वडा अध्यक्ष सुरेश मानन्धरले कोभिड १९ को अवस्थालाई मध्यनजर गर्दै वडाले कृषीमा लगानी गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ “संक्रमणको समयमा भोकमरी हाहाकारको स्थितिलाई मध्यनजर गरेर उत्पादनमुख कार्यको शुरुवात हामीले गरेको हौं । अब यो बर्ष थप अरु जग्गा भाडामा लिएर अरु उत्पादनमुखी काम गर्ने वडाको योजना रहेको छ ।”

यसैवीच आज नै वीरेन्द्रनगर नगरपालिका ९ नं वडाको शिव मन्दिर नजिकै कृषि तथा पशुपन्छी संकलन केन्द्र संचालनमा आएको छ ।

संकलन केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख सुवेदीले नवनिर्मित संकलन केन्द्रलाई कार्यविधी बनाएर संचालन गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो “भएको संचरचनाको सही सदुपयोग हामी सबै गर्न सकेमात्र जीवनस्तर परिवर्तन हुन्छ ।”

समाज जागरण केन्द्र स्याक नेपाल सुर्खेतका कार्यकारी निर्देशक टिकाराम आचार्यले वडाको सहयोग तथा जनश्रमदानमा संकलन केन्द्रको निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो ।

संकलन केन्द्रमा विशेषत स्थानीयस्तरमा उत्पादन गरिएका अर्गानिक तरकारीहरु सुपथ उपलब्ध हुने केन्द्रका संयोजक सुजा रोकायले बताउनुभयो । उहाँ भन्नुहुन्छ “यसबाट ग्राहकले पनि स्वस्थ तरकारी उपभोग गर्न सक्नुहुन्छ भने किसान पनि विचौलियाबाट जोगिने छ ।”