पत्रकार स्व. नन्दबहादुर गेलाङ्ग दुर्घटनाका आरोपी टिप्पर चालक दाेषी ठहर


 

२२ माघ, सुर्खेत । गत जेठको महिना टिप्परको ठक्करबाट मृत्यु हुनुभएका पत्रकार नन्दबहादुर गेलाङ्गका दुर्घटनाका आरोपी चालकलाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरेको छ।

जेठ २९ गते बुधबारका दिन सुर्खेतको भेरीगंगा नगरपालिका ८ लोदे मेहेलकुनामा टिप्परको ठक्करबाट ज्यान गुमाउनु भएका नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुर्खेत शाखाका संस्थापक अध्यक्ष एवंम् नेपाल पत्रकार महासंघ सुर्खेतका सह–सचिव नन्दबहादुर गेलाङ्ग नन्दुको मृत्युमा टिप्पर चालकलाई दोषी ठहर गरेको हो ।

पत्रकार गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई चालक सन्तबहादुर राईले चलाउनुभएको रुकुमपश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।

जिल्ला अदालत सुर्खेतका जिल्ला न्यायाधीश प्रलादकुमार योगीको एकल इजलासले टिप्पर चालक धादिङ ठाम्रे-६ का ३६ वर्षीय सन्तबहादुर राईको लापरवाहीका कारण दुर्घटनामा गेलाङको मृत्यु भएको कसुर ठहर गरेको हो।

कसुर ठहरपश्चात अब ३० दिनभित्र इजलास प्रक्रिया हुने र उक्त इजलासबाट कसुर ठहरिएका राईलाई सजाय तोकिने जिल्ला अदालत सुर्खेतका श्रेष्तेदार भूपाल भण्डारीले जानकारी दिनुभयो ।

उक्त कसुरअन्तर्गत ३ देखि १० वर्षसम्मको कैद सजाय तथा ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।