

६ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रो चरणको लहर तिब्रगतीमा बढी रहँदा सरकारले अति प्रभावित १४ जिल्लामा बैशाख मसान्त सम्म विद्यालय बन्द गर्ने निर्देशन दिएपनि सुर्खेत जिल्लामा भने अन्यौलता छाएको छ ।
वर्गिकरणमा सुर्खेत जिल्लाको वीरेन्द्रनगर अहिले सम्म पनि शहरी क्षेत्र भित्रको परिभाषामा नराखिएकोले अन्यौलता छाएको बताइएको छ । तर हाल वीरेन्द्रनगरको जनसंख्या करिब पौने २ लाख पुगिसकेको र हाल सम्म गृहमन्त्रालयबाट स्पष्ट निर्देशन नआएकोले पर्सी ८ गतेदेखि बन्द हुन सक्ने सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवीलाल रिजाले बताउनुभयो । उहाँले भन्नुभयो “वीरेन्द्रनगरलाई शहरी क्षेत्र नभने पनि जनसंख्याको हिसाबले व्यवहारिक रुपमा विद्यालयहरु बन्द हुन सक्छन् । यस विषयमा हामी स्थानीय तह र स्वास्थ्य संग सम्बन्धित सरोकारवालहरु संग छलफल गर्नेछौं ।”
स्मरण रहोस केही दिन अगाडी सुर्खेत लगाएत १४ जिल्लालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेड जोनमा राखेको थियो ।
Prawash Kumar Shakya । ६ बैशाख २०७८, सोमबार १८:२७ बजे