मतदाता नामावलीमा नाम छुटेको छ ? साउन १ गतेदेखि नाम दर्ता गरिहाल्नुस्


Election-Commission-fo-Nepal-58ce79cd970261.27913781

मतदाता नामावलीमा नाम छुटेको छ ? मतदाता नामावलीमा नाम नभएकै कारण भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न पाउनु भएन ? चिन्ता नगर्नुस्, अब यही साउन १ गतेदेखि निर्वाचन आयोगले फेरि मतदाता नामावली संकलन गर्दैछ । निर्वाचन आयोगलाई नकुर्नुहोस्, आफै आफ्नो जिल्लाको निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गराइहाल्नुस् । नत्र आगामी असोजमै हुने प्रादेशिक र संसदीय निर्वाचनमा पनि भोट हाल्नबाट बञ्चित हुनुहोला नि !

निर्वाचन आयोगले प्रादेशिक र संसदीय निर्वाचनका लागि साउन १ गतेदेखि फोटोसहितको मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन भएलगत्तै आयोगले प्रादेशिक र संसदीय निर्वाचनलाई मध्यनजर गरी जिल्ला निर्वाचन कार्यालयमार्फत फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्न लागेको हो ।

उमेर पुगेर पनि मतदाता नामावलीमा नाम लेख्न छुटेका कारण स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएका नागरिकले साउन १ गतेपछि जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम लेखाएपछि प्रादेशिक र संसदीय निर्वाचनमा मतदान गर्न पाउनेछन् । निर्वाचन आयुक्त नरेन्द्र दाहालले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि साउन १ गतेदेखि ७५ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु हुने जानकारी दिए । फोटोसहितको नामावलीमा नाम नभएका नेपाली नागरिकले नागरिकता लिएर जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउनुपर्ने उल्लेख गरे । दाहालका अनुसार सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा नगरुन्जेल मतदाता नामावली दर्ता गरिनेछ ।

प्रमुख निर्वाचन आयुक्तसहित आयोगका पदाधिकारीले एक सातापहिले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधानअनुसार माघ ७ भित्र बाँकी ३ वटा निर्वाचन गर्नुपर्ने व्यवस्थाबमोजिम २०७४ असोजको अन्तिममा प्रदेशसभा निर्वाचन, कात्तिक दोस्रो हप्तामा राष्ट्रियसभा निर्वाचन र मंसिर पहिलो हप्तामा प्रतिनिधिसभा निर्वाचन गर्न प्रस्ताव गरेको बताइएको छ ।

साभारः पहिलोपेजअनलाइन