अपराधी जो सुकै होस कारवाही हुनैपर्छ- श्रेष्ठ


२३ जेठ, सुर्खेत । राउटे महिला माथि भएको यौन हिंसा घटनाको भिडियो बाहिरए संगै अपराधीलाई कारवाही गर्नुपर्ने माग उठ्न थालेको छ ।

गुर्भाकोट नगरपालिका-९ बोटेचौर सुर्खेतका २९ वर्षीय विनोद पुन, सोही ठाउँका ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन बुढाले भाइरल राउटे महिला सम्झना र अर्को महिला गाजलीलाई स्थानीय होटलमा मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसंगै व्यापक विरोध शुरु भएको हो ।

हिंसामा संलग्न ३ जनालाई अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको छ । भिडिओमा राउटे युवतीहरूले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भनेपनि युवाहरूले भने जबर्जस्ती भिडियोमा युवतीलाई बोल्न लगाएका देखिन्छ । यतिमात्रै होइन एकजना व्यक्तिले जबरजस्ती चुम्बनसमेत गरेको भिडियोमा देखिन्छ ।

यसैवीच कर्णाली स्वयम् सेवक दलले #save_raute अभियान चलाउँदै राउटे महिला हिंसाको अन्त्य गर्न माग गरेको दलका संयोजक सुदर्शन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘हिंसामा अपराधी जो सुकै भएपनि कानुनी कठघरमा उभ्याउनै पर्छ त्यसमापनि झन राउटे जाति भनेको कर्णाली प्रदेशको गहना हुन त्यसैले अपराधीलाई कडाभन्दा कडा सजायको हामी माग गर्दछौ ।’