१० फागुन, काठमाडौं ।
वालकृष्ण थापा ०४९ सालमा निरीक्षकका रुपमा प्रहरी सेवामा प्रवेश गरे । त्यस क्रममा उनले पेश गरेको त्रिभुवन विश्वविद्यालयको बीएस्सीको प्रमाणपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७० सालमा जाली नक्कली भएको ठहर गरेको छ । बढुवा भएर प्रहरी नायब उपरीक्षक डीएसपी भइसकेका थापाले यसैकारण बदनामी मात्रै बेहोर्न परेन, प्रहरी सेवाबाटै अपमानजक बहिर्गमनसमेत हुनुपर्यो ।
प्रायः भारतीय शैक्षिक प्रमाणपत्रहरु नक्कली ठहरिने गरेको समयमा प्रहरीका उच्च तहका अधिकारीसँग त्रिविकै प्रमाणपत्र नक्कली भेटिँदा अख्तियारका अनुसन्धान अधिकारीहरु पनि तीनछक्क परेका छन् । भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याइन्छ भन्ने आम आशंकालाई यस प्रकरणले नेपालतर्फ मोडेको छ ।
आयोगका अनुसार ०७० सालमा डीएसपी थापाजस्तै ४१ जना प्रहरी अधिकारीहरुले नक्कली सर्टिफिकेटका कारण सेवाबाट हात धोएका छन् । जसमा प्रहरी निरीक्षक नरबहादुर बिष्ट, जितेन्द्र भट्टराईलगायतमा पनि यो सूचीमा सामेल छन् । उनीहरु अधिकांशले भारतीय नक्कली प्रमाणपत्र प्रयोग गरेको भेटिएको हो ।
नक्कली शैक्षिक प्रमाणपत्रको जालो सरकारी तथा सार्वजनिक सेवामा ‘क्यान्सर’का रुपमा फैलिरहेको अख्तियारको ठहर छ । यसले अयोग्य व्यक्तिलाई शिष्ट जिम्मेवारीमा पुर्याउने र त्यसैका कारण सार्वजनिक सेवामा विभिन्न समस्या ल्याउने गरेको अख्तियारका अधिकारीहरु बताउँछन् ।
कुन क्षेत्रमा धेरै समस्या
यसैलाई ध्यानमा राखेर अख्तियारले पछिल्लो जाली शैक्षिक प्रमाणपत्रको जालो चिर्न अभियान नै चलाएको आयोगका प्रवक्ता कृष्णहरि पुस्करले अनलाइनखबरसँग बताए ।
‘भारतीय सर्टिफिकेट भनेपछि अधिकांशले नक्कली भन्ने सोच्छन् । यही आशंकाले सम्बन्धित संस्थाहरुले नै त्यस्ता प्रमाणपत्रबारे आयोगमै उजुरी गर्ने गरेका छन् । सर्वसाधारणहरुले पनि यस विषयमा आयोगमा उजुरी गर्छन्’ प्रवक्ता पुस्करले भने( ‘नक्कली प्रमाणपत्रको जालो अब उच्च सरकारीतहसम्म पुगिसकेको छ र यसको नियनत्रण चुनौतिपूर्ण बन्दै गएको छ ।’
सरकारी सेवा प्रवेश र बढुवा तथा पदोन्नतिका क्रममा नै नक्कली सर्टिफिकेट पेश भएको अनुसन्धानबाट देखिएको छ । पुस्करका अनुसार विशेषगरी प्रहरी तथा शिक्षक र सार्वजनिक संस्थानका जागिरेहरु नक्कली सर्टिफिकेटको प्रयोगमा अब्बल देखिएका छन् ।
बितेका दुई आर्थिक वर्षमा अख्तियारले यससम्बन्धी १ सय ७६ वटा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष ०७०र७१मा ८० वटा मुद्दा दायर भएका हुन् भने बितेका वर्ष ९६ वटा मुद्दा विशेष अदालतमा पुगेका छन् । यसमध्ये ५८ वटा मुद्दा प्रहरी र ४९ वटा शिक्षा क्षेत्रसँग सम्वद्ध छन् ।
झण्डै ३३ प्रतिशत मुद्दा प्रहरी विरुद्ध दायर भएका छन् भने २८ प्रतिशत मुद्दा शिक्षकहरुविरुद्ध परेको छ । यी दुई क्षेत्रपछि सार्वजनिक संस्थानमा जागिर गर्नेहरुको मुद्धा बढी विशेष पुगेको पुस्करले जानकारी दिए ।
बहालवाला सचिवसमेत अनुसन्धानमा
‘निजामति सेवामा प्रवेश गर्दा पनि नक्कली प्रमाणपत्र पशे गरेका धेरै मुद्दा विशेषमा पुगेका छन्’ पुस्करले भने ‘शैक्षिक प्रमाणपत्र मात्रै होइन विभिन्न तालिमका प्रमाणपत्रहरु पनि नक्कली बनाएर पेश भएका भेटिएका छन् ।’
अख्तियारले दायर अधिकांश मुद्दा भारतीय विद्यालय, कलेज र विश्वविद्यालयबाट ल्याएको देखाइएका छन् ।
आयोगमा अहिले दुई हजारभन्दा बढी नक्कली शैक्षिक प्रमाणपत्रबारेको उजुरी जम्मा भएका छन् । त उजुरीहरुमाथि छानबिन अघि बढिसकेको प्रवक्ता पुस्करले बताए ।
‘नक्कली प्रमाणपत्रको जालो हद कतिसम्म पुग्यो भने बाहालवाला सचिवका प्रमाणपत्र पनि नक्कली भएको उजुरी आयोगमा छ’ पुस्करले भने(‘शैक्षिक प्रमाणपत्रदेखि तालिमका नक्कली प्रमाणपत्र पेश गर्नेहरु उच्च तहमै पुगेको यसबाट अनुमान गर्न सकिन्छ ।’
अख्तियारले नक्कली प्रमाणपबारे अदालतमा पेश गर्ने ९५ प्रतिशत मुद्दा जित्ने गरेको छ । अख्तियारले परेका उजुरीहरुमाथि भारतीय शैक्षिक संस्थामा आफ्नै प्रतिनिधि पठाएर अनुसन्धान गर्ने गरेको छ ।
‘पछिल्लो समयमा विभिन्न तेस्रो मुलुकबाट ल्याइएका प्रमाणपत्र पनि अनुसन्धानको घेरामा छन् । यिनीहरुको हकमा हामीले अनलाइन प्रविधिको प्रयोग गरेर सूचना र तथ्यहरु बटुलिरहेका छौं’ प्रवक्ता पुस्करले भने(‘आवश्यक पर्दा इमेलको पनि प्रयोग गछौं ।’
गैह्रसरकारी र निजी क्षेत्रमा हालत के होला
सरकारी तथा सार्वजनिक सेवामा यति जाली प्रमाणपत्रको जालो ब्यापक बनिरहँदा निजी क्षेत्र भित्रको अवस्था कस्तो होला भन्ने अनुमान सहजै लगाउन सकिन्छ । अख्तियारको क्षेत्रभित्र नपर्ने गैह्रसरकारी संघसंस्था, निजीऔद्योगिक तथा व्यवसायिक प्रतिष्ठान लगायतमा यस्ता प्रमाणपत्र छ्यापछ्याप्ती हुनसक्ने अख्तियारका अधिकारी बताउँछन् ।
‘सरकारी क्षेत्रमा कमसेकम अख्तियरको डर छ । गैह्रसरकारी र निजी क्षेत्रमा त यस्ता प्रमाणपत्रबारे कसैले चासो नै राख्दैन’ अख्तियारका एक अधिकारीले भने( ‘नेपाली सेनाभित्र पनि जाली शैक्षिक प्रमाणपत्रबारे खासै अध्ययन हुँदैन ।’
साभारः अनलाईन खबर ।



Milan Shrestha । १० फाल्गुन २०७२, सोमबार ०७:४३ बजे