बाँकेका शतक रक्तदाता जायसवाललाई सम्मान गर्दै साधारणसभा सम्पन्न



नेपालगन्ज । विगत तीन दशक लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको ३२ साधारणसभा सम्पन्न भएको छ । २२ औंं विश्व रक्तदाता दिवसरकै दिन शनिवार सम्पन्न उक्त साधारणसभामा बाँके जिल्लाका शतक रक्तदाता तथा वरिष्ठ समाजसेवी पवन जायसवाललाई सम्मान गरिएको हो ।

शतक रक्तदाता जायसवाल सहित उहाँका जीवन संगिनी श्रीमती किरण देवी जायसवाललाई सभाका प्रमुख अतिथि वरिष्ठ नागरिक अगुवा कृष्णराज पन्त र संस्थाकी अध्यक्ष श्रीमती लता शर्माले दोसल्ला ओढाएर सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो । शतक रक्तदाता जायसवालले १०४ पटक रक्तदान गरिसक्नु भएको छ ।

सो अवसरमा प्रमुख अतिथि वरिष्ठ नागरिक अगुवा कृष्णराज पन्तले तीन दशकदेखि गरीब तथा विपन्न वर्गको लागि काम गर्दै आएको ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रले १५ वर्षदेखि पिछडिएका, गरीब तथा विपन्न समुदायको लागि निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन गरेर राज्यले गर्नुपर्ने काम एक सामाजिक संस्थाले गरेर अतुलनीय योगदान दिएकोमा सह्राना गर्नुभयो । प्रमुख अतिथि वरिष्ठ नागरिक अगुवा पन्तले सात दशकको उमेर र मेरो सामाजिक जीवनमा सबभन्दा खुशीको कुरा यति लामो समयसम्म निरन्तर रक्तदान दिने जस्तो महान मानवीय सेवा गर्ने शतक रक्तदातालाई आफ्नो हातबाट सम्मान गर्ने अवसर पाएकोमा गर्व महसुस गरेको बताउनु भयो । उहाँले भन्नुभयो– यसका लागि आयोजक संस्थाप्रति आभार व्यक्त गर्दछु ।

त्यस्तै कार्यक्रमका सभापति लता शर्माले संस्थाको ऐतिहासिक पृष्टभूमि, विगत र वर्तमान अवस्थाको चर्चा गर्नु हुँदै २०४९ सालमा दर्ता भएको यो सस्थाले दुई वटा कार्यक्रमलाई प्राथमिकता दिएर दिर्घकालीन कार्यक्रम सञ्चालन गरेको छ । संस्थाकोे पहिलो कार्यक्रम २०५८ सालतिर बचत तथा ऋण कार्यक्रमलाई ठिक २० वर्षपछि २०७८ फाल्गुन ५ गतेका दिन पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दर्ता गरेर मर्ज गराइएको छ । दोस्रो माइक्रो क्रेडिट कार्यक्रम सञ्चालन गरेको १० वर्ष पछि २०६७ सालदेखि विपन्न तथा गरीब वर्गका समुदायलाई लक्षित गरेर निःशुल्क सामुदायिक स्वास्थ्य कार्यक्रम अहिलेसम्म पनि निरन्तर चलिरहेको बताउनु भयो । उहाँले भन्नुभयो– जनरल र आँखा तर्फ एक वर्षमा १० हजार ४५८ जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् र लक्षित समुदायले हामी प्रति निरन्तर विश्वास गरेकै कारण हाम्रो विदेशी दातृसंस्थाले हामी प्रति विश्वास गरेर सहयोग गर्दै आएको छ । अब यो सेवालाई पनि थप विस्तार गरेर सामुदायिक पोलिक्लिनिक दर्ता गर्नका लागि कानुनी प्रक्रिया अगाडी बढाइएको अध्यक्ष शर्माले जानकारी दिनु भयो ।

संस्थाका उपाध्यक्ष लेक प्रसाद प्याकुरेलले स्वागत मन्तव्य राख्नु भएको उक्त सभामा संस्थाका सल्लाहकार हरि नारायण शर्मा गौतम र पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक बामदेव भट्टराईले संस्थाले गरीब नागरिकका लागि गर्दै आएको सेवा र योगदान प्रशंसनीय भएको बताउनु भयो ।

करीब तीन दर्जनको सहभागिता रहेको उक्त साधारण सभामा कार्यक्रम संयोजक महेश श्रेष्ठद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पूर्ण लाल चुकेद्वारा प्रस्तुत आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन व्यापक छलफल पश्चात सर्वसम्मत रुपमा पारित गरिएको थियो ।