११ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट ४१ जना बालबालिकाहरुलाई उद्दार गरि संघीय राजधानी काठमाण्डौं लगिएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित साझा घर नेपाल र बालगृह महासंघले बालगृह संचालनको मापदण्ड पूरा गर्न नसकेको बालगृहहरुबाट जोखिममा परेका बालबालिकाहरुलाई, विभिन्न सरोकारवाला निकायहरुको सहयोगमा राष्ट्रिय बाल अधिकार परिषदले ४१ जना बालबालिकाहरुलाई उद्दार गरि काठमाण्डौ लगेको परिषदका बाल संरक्षण अधिकृत सुनिता शाहले जानकारी दिनुभयो ।
केही दिन अघी कर्णाली स्वयंसेवक दलले साझा घर नेपालमा आश्रित बालबालिकाहरुको अवस्था नाजुक देखिपछि आवाज उठाएसंगै जिल्ला प्रहरी कार्यालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय बाल अधिकार परिषदको सहकार्यमा उद्दार कार्य गरिएको सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख अनिता ज्ञवालीले जानकारी दिनुभयो ।
उद्दार गरिएका ४१ जना बालबालिकाहरु मध्य २७ जना बालक तथा १४ जना बालिकाहरु रहेको महाशाखा प्रमुख ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार साझा घर नेपालबाट २२ जना बालक र १० जना बालिका तथा बालगृह महासंघबाट ५ बालक र ४ जना बालिका गरि ४१ जना बालबालिकाहरुलाई उद्दार गरिएको छ । उद्दार गरिएका बालबालिकाहरुमा ५ बर्ष सम्मका ३ जना, ६ देखि १० बर्ष सम्मका २० जना, ११ देखि १५ बर्ष सम्मका १७ जना र १६ देखि १८ बर्ष सम्मका १ जना रहेकाछन् । त्यस्तै उद्दार गरिएका बालबालिकाहरु सुर्खेतका १७ जना, कालिकोटका १२ जना, दैलेखका ५ जना, जाजरकोटका ३ जना, कैलालीका १ जना, काभ्रेप्लाञ्चोकका १ र २ जनाको ठेगाना थाहा नभएको बताइएको छ ।
परिषदका बाल संरक्षण अघिकृत शाहका अनुसार अनुगमनका क्रममा प्रचलित मापदण्ड विपरित बाल गृह संचालन गरेको र अघी पटकपटक अनुगमनका क्रममा दिइएका सुझावहरुलाई कार्यान्वयन नगरेको पाइएकोले त्यहाँ संरक्षित बालबालिकाको उद्दार गरिएको हो । बाल संरक्षण अधिकृत शाह भन्नुहुन्छ “बालगृह सञ्चालन गर्नकोलागि पहिला कानुनी प्रक्रिया पुरा गरेर अनुमती लिइसकेपछि बालबालिकाहरुलाई मापदण्ड बमोजिमका सुविधाहरु दिएर राख्नुपर्छ । अनुगमनका क्रममा मापदण्ड विपरित तरिकाले चलाइएका वीरेन्द्रनगरमा सञ्चालित २ संस्थाहरुबाट हामीले बालबालिकाहरुको उद्दार गरेका हौं ।”



Prawash Kumar Shakya । ११ माघ २०७९, बुधबार १६:४५ बजे