जिउँदो शहिद कायस्थको निधन, प्रधानमन्त्रीद्वारा शोक व्यक्त


२८ बैशाख, काठमाण्डौं ।  दोस्रो जनआन्दोलनका जिउँदो शहिद नामले परिचित मुकेश कायस्थको निधन भएको छ ।

कायस्थको उपचारका क्रममा बुधबार साँझ निधन भएको मुकेश फाउन्डेसनले जनाएको छ । ६२/६३ को आन्दोलनमा २०६२ चैत्र २७ मुकेशको  कञ्चटमा गोली लागेको थियो । त्यतिबेला उहाँको उमेर मात्र १४ वर्ष थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते हुनुभएका मुकेश सोही दिनदेखि उठ्न सक्नुभएको थिएन र उहाँको ओछ्यानमा नै ३२ बर्षको उमेरमा निधन भएको छ । ‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भैरहेको थियो ।

मुकेशको उपचार हुँदै गर्दा देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, नरम खानेकुरा खाने र ह्विलचेयरमा अडिन सक्नेसम्म हुनुभएको थियो । सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेका लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।

यसैवीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।