वीरेन्द्रनगरको १२औं नगरसभा बहिष्कार



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको १२औं नगरसभा २८ जना कार्यपालिका सदस्यले बहिष्कार गर्नु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका ३ का वडाध्यक्षले वडा समितिमा छलफल नगरी योजनाको बजेट रकमान्तर गरेको भन्दै नेपाली कांग्रेसका कार्यपालिका सदस्यहरुले नगरसभा बहिष्कार गरेका हुन् ।

वडाको टोलहरुमा सडक मर्मत गर्ने, सडक बत्तीलगायत योजनामा विनियोजन गरेको बजेट नगरसभामार्फत अन्य शीर्षकमा बजेट रकमान्तर गरेपछि कांग्रेसका सदस्यहरुले नगरसभा बहिष्कार गरेका हुन् । पाँचरपाँच लाखका योजना बनाएका बजेट वडा समितिमा छलफल नगरी वडाध्यक्षले मनपरि शीर्षक बनाएर रकमान्तर गरेको भन्दै वडा सदस्यहरुले आपत्ति जनाएका छन् ।

वीरन्द्रनगरका १६ मध्ये ५ वटा वडा कांग्रेसले नेतृत्व गरेको छ । विधि विधान र प्रक्रिया मिचेर नगरसभा सञ्चालन गरिएको भन्दै २८ जना कार्यपालिका सदस्य बाहिरिएका हुन् ।

नगरसभामा सदस्यहरुले सार्वजनिक महत्त्वका विषयमा धारण राख्नेक्रम जारी रहेको र बजेट रकमान्तर गरेको भन्दै कांग्रेस बाहिरेपछि नगरसभा फागुन ४ गते बस्ने गरी स्थगित गरिएको छ ।