प्रदेश स्थापनामा कर्णालीबासीको ठूलो सँघर्ष त्याग र बलिदान रहेको तथ्य इतिहास सिद्धः प्रधानमन्त्री प्रचण्ड


४ भाद्र, सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली एउटा सभ्यता भएकोले कर्णालीको विकासलाई आफूले सँधै प्राथमिकतामा राखेको बताउनुभएको छ ।

आज कर्णाली प्रदेश स्थापना तथा शहिद दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश स्थापनामा कर्णाली बासीको ठूलो सँघर्ष त्याग र बलिदान रहेको तथ्य इतिहास सिद्ध रहेको बताउनुभयो । कर्णाली प्रदेश सरकारको कर्णालीलाई समृद्ध बनाउने अभियानलाई संघीय सरकारको साथ र सहयोग रहने प्रधानमन्त्रीले जिकिर गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले कर्णाली प्रदेश स्थापनाका क्रममा सहादत प्राप्त शहिदका सपना पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको शुदृढिकरण सहित सामाजिक न्याय शुसासन र समृद्धिको यात्रा ढृढतापूर्वक अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले कर्णालीमा अथाह प्राकृतिक श्रोतसाधन हुँदाहुँदै पनि भौतिकपूर्वाधारको अभाव पूर्वाधार विकासमा भौगोलिक चुनौती, आर्थिक श्रोत परिचालनमा अभाव तथा कर्मचारी परिचालन र व्यवस्थापनमा देखिएका चुनौतीहरु गम्भीर प्रकृतिको रहेको बताउनुभयो  । त्यस्तै उहाँले दुर्गममा कर्मचारी बस्न नचाहने र संघीय सरकारले पनि प्रयाप्त ध्यान दिन नसक्दा प्रदेश सरकारको काम कारवाही प्रभावितको गुनासोलाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभयो

कर्णाली कोरिडोर, कर्णाली राजमार्ग, भेरी कोरिडोर, राप्ती लोकमार्ग, थारमारे-चौरजहारी-जुम्ला शहिद कामी बुढा मार्ग कैलाश मानसरोवर दर्शन क्षेत्र हुँदै मुक्तिनाथ जोड्ने सडक योजनामा संघीय सरकारबाट आफूले पहल गर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । साथै उहाँले कर्णाली कोरिडोर र हिल्सा सुर्खेत सडक निर्माणकालागि आफ्नो चिन भ्रमणमा प्रस्ताव राख्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले मानवीय विकासको सूचकाङ्कमा पछि परेका कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश तथा मधेश प्रदेशको विकास नहुँदा सम्म नेपालको विकास र समृद्धिको यात्रा सन्तुलित ढङ्गले बढ्न नसक्ने जिकिर गर्नुभयो ।