सल्यान, २१ साउन । जिल्ला शिक्षा कार्यालय सल्यानले समयमै भौतिक पूर्वाधार निर्माणको कार्य पूरा नगर्ने २२७ वटा विद्यालयका बैंक खाता रोक्का गरेको छ ।
विद्यालय भवन निर्माणका लागि रकम लिएर दुई आर्थिक वर्षसम्म पनि फछ्र्योट नगर्ने विद्यालयका बैंक खाता कार्यालयले रोक्का गरेको हो ।
जिल्ला शिक्षा कार्यालयका अनुसार खाता रोक्का गरिएका विद्यालयका शिक्षकले तलबसमेत खान पाएका छैनन् । विद्यालयमा भौतिक संरचना निर्माणका लागि आव २०७२/७३ मा पेस्की रकम लिएर कार्य सम्पन्न प्रतिवेदन नबुझाएकाले खाता रोक्का गर्नुपरेको जिल्ला शिक्षा अधिकारी बर्खुप्रसाद रजकले बताए ।
विद्यालयले समयमै कार्य सम्पन्न प्रतिवेदन बुझाएमा खाता सञ्चालन गर्न दिने जिल्ला शिक्षा कार्यालय सल्यानका लेखा अधिकृत तोरणप्रसाद घिमेरेले जानकारी दिए । उनका अनुसार विद्यालयको खातामा गएको रु १२ करोड ४२ लाख ९० हजार रोक्का भएको छ ।
साभारः खबरइरा अनलाइन



Prawash Kumar Shakya । २१ श्रावण २०७३, शुक्रबार १६:१० बजे