पुर्ख्यौली घरमा डा. देवकोटाः पिँढीमा सुस्ताए, सिस्नेधाराको पानी पिए


२६ जेठ, गोरखा । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर पुगेर फर्किएका छन् । न्यूरो अस्पतालमा उपचाररत डा. देवकोटालाई उनको इच्छाअनुसार शनिबार दिउँसो जन्मथलो गोरखा लगिएको थियो ।

डा. देवकोटाले परिवारका सदस्यहरुसँग पुर्ख्यौली घरको पिँढीमा बसेर सुस्ताउने र सिस्नेधाराको पानी पिउने इच्छा व्यक्त गरेका थिए ।

न्यूरो अस्पतालमा उपचार जारी 

पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको बाँसबासीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बसन्त देवकोटाका अनुसार डा. उपेन्द्रलाई बेलाबेलामा रोगले च्याप्ने र बेलाबेलामा सुधार भएको जस्तो देखिने गरेको छ ।

तर, शुक्रबार बेलुकीदेखि उनीबारे अप्रिय कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि परिवार पीडामा छ ।

न्यूरो अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै देवकोटाबारे सामाजिक सञ्जालहरुमा सम्प्रेषित खबरमा कुनै सत्यता नरहेको र उनको अहिले सघन उपचार भइरहेको प्रष्ट पारेकाे छ ।

पित्तथैलीमा समस्या आएपछि पाँच महिनाअघि देवकोटा बेलायतमा उपचार गर्न गएका थिए । क्यान्सर पुष्टि भएपछि नेपालमै उपचार गर्ने इच्छा व्यक्त गर्दै गत वैशाखमा उनी नेपाल फर्किएका थिए ।

अनलाइनखबरबाट