साउन, २३
![]()
केही दिनअगाडि विभिन्न छापामा खबर आएको थियो, रियो ओलम्पिकको द्वीप–प्रज्वलन ब्राजिलका महान फुटबल खेलाडी पेलेले गर्दैछन्।
तर, रियो ओलम्पिकको ठिक एक दिन पहिले पेलेले वक्तव्य सार्वजनिक गर्दै भने, ‘मेरो स्वास्थ्य अवस्था राम्रो छैन। त्यसैले म ओलम्पिकमा सहभागी हुन असमर्थ छु।’ गत महिनामात्र आफूभन्दा आधा उमेर कान्छी महिलासँग विवाह बन्धनमा बाँधिएका पेलेको त्यो वक्तव्य आफैंमा रहस्यमय मानिन्छ।
तर, उनले अस्वस्थताका कारण ओलम्पिकको द्वीप–प्रज्वलन गर्ने त टाढाको कुरा उद्घाटन हुने माराकाना रंगशालामै आउन असमर्थता जनाए। यसअघि ब्राजिलमा आयोजना हुने कुनै प्रतियोगिता पेलेको उपस्थिति बिना असम्भवझैं मानिन्थ्यो। त्यसैले उनको अनुपस्थितिमा रियो ओलम्पिकको द्वीप कसले प्रज्वलन गर्छ भन्ने कौतुहलता जाग्नु स्वभाविक पनि थियो।
तर, शनिबार नेपाली समयअनुसार पौने ९ बजे माराकाना रंगशालामा रियो ओलम्पिकको द्वीप भान्डेर्ली कोर्डेरो डे लिमाले प्रज्वलन गर्दा विश्वका प्रायः सवै दर्शक छक्क परे। लिमा तिनै अभागी म्याराथन धावक हुन्, जो सन् २००४ को एथेन्स ओलम्पिकमा स्वर्णको नजिक थिए। तर, एउटा घटनाका कारण स्वर्ण गुमाउन पुगे। म्याराथनको ३५ किलोमिटर दुरीसम्म उनी अग्रस्थानमा थिए।
तर, त्यति नै बेला ओलम्पिक हेर्न एथेन्स पुगेको आयरल्यान्डको एक पादरी कोर्नेलियोस होरानले उनलाई बीच बाटोमै च्याप्प समाएर रोकेको थियो। पादरीबाट आफूलाई छुटाएर पुनः दौडमा सहभागी भएका लिमाले कास्यमा चिक्त बुझाउनुपर्यो। उनले खेल भावनालाई मर्न नदिएको भन्दै एथेन्स ओलम्पिकमा उनलाई ‘स्पोटर््सम्यानसीप अवार्ड’ बाट सम्मान गरिएको थियो। लिमाले १९९५ मा टोकियो अन्तर्राष्ट्रिय म्याराथन, हयामबर्ग म्याराथन र क्षेत्रीय क्रसकन्ट्री च्याम्पियनसिपमा स्वर्ण जितेका थिए।
उनले पान अमेरिकी गेम्समा १९९९ र २००३ गरी २ वटा स्वर्ण जितेका थिए। उनलाई रियोको द्वीप–प्रज्वलन गर्न दिएर उनको खेल जीवनको ठूलो सम्मान गरिएको रूपमा अथ्र्याइएको छ।साभारः सेतोपाटी खबर ।



Milan Shrestha । २३ श्रावण २०७३, आईतवार ००:३१ बजे