शशांकको स्वास्थ्य अझै बाबाहिर लैजाने अवस्था छैन
२२ असार, काठमाडौं । ओम अस्पतालले कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य गम्भीर रहेको जनाएको छ । उनलाई हाई डोजका चार प्रकारका औषधि दिइएको छ ।
दिउँसो पत्रकार सम्मेलन गर्दै डा. लव जोशीले भने, ‘बिहान एक सय पर्सेन्ट अक्सिजन दिइरहेकोमा अहिले ८० पर्सेन्टमा झारिएको छ । अहिले अवस्था जटिल र यथास्थितिमा छ ।’
शशांकलाई मेकानिकल भेन्टिलेटरमा राखिएको छ र हाई डोजमा चार प्रकारका औषधि दिइएको छ ।
शरीरको अधिकांश भागमा संक्रमण
अस्पतालका अनुसार निमोनिया कारण कोइरालाको शरीरको अधिकांश भागमा संक्रमण फैलिएको छ । चिकित्सकीय भाषामा यसलाई ‘सेप्टिक शक’ भनिन्छ । यसले उनको धेरै अंगमा समस्या देखिएको छ ।
महामन्त्री डा. कोइरालालाई निमोनिया भएकाले श्वासप्रश्वासमा सहज होस् भनेर छातीमा ट्युब राखिएको छ । मिर्गौला र कलेजोमा पनि सामान्य समस्या देखिएको छ । समस्याको पहिचान गर्न चारवटा एक्सरे गरिएको थियो ।
डा. जोशीले काठमाडौंमा उपलब्ध सबै चिकित्सकहरुसँग समन्वय गरी उपचार गरिरहेको जानकारी दिए । उपचारमा डा. भगवान कोइराला, डा. अर्जुन कार्की, शशांक पत्नी सुपात्रालगायत १५ जनाको टोली खटिएको छ ।
बाहिर लैजाने अवस्था छैन
डा. जोशीले शशांकलाई अहिलेकै अवस्थामा उपचारका लागि बाहिर लैजाने स्थिति नभएको बताए । तर, एयर एम्बुलेन्समा आउने चिकित्सकको टोलीले लैजानसक्ने अवस्था छ भन्यो भने लैजान सक्ने उनले बताए ।
‘हामीले लैजाने नलैजाने भन्न मिल्दैन । एयर एम्बुलेन्स पुरै सुसज्जीत भएर आउँछ र उताबाट आउने टिमले हेरेर एक-डेढ घण्टा उडाएर लैजान सकिन्छ भन्छ भने लैजान सक्छन् । हामीले रोक्दैनौं,’ डा. जोशीले भने ।
उनले डा. कोइराला बेहोस् नै भएकाले चौबिस घण्टासम्म अब्जरभेसनमै राख्नुपर्ने बताए । जुन ठाउँमा लगे पनि अहिले नेपालमा गरिरहेकै उपचार पद्दती प्रयोग हुने उनले बताए ।
साभारःअनलाईन खबर ।



Milan Shrestha । २२ असार २०७३, बुधबार ११:११ बजे