कालिकोटको सुनथराली विमानस्थलको औपचारिक उद्घाटन


१४ फागुन, कालिकोट । कर्णाली प्रदेशको पहाडी जिल्ला कालिकोटको नरहरीनाथ गाउँपालिकाको कोटबाडामा निर्मित सुनथराली विमानस्थलको आज औपचारिक उद्घाटन गरिएको छ ।

नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री सुदन किराँतीले संयूक्तरुपमा कोटबाडाको सुनथराली विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा कर्णाली प्रदेश सभाका उप सभामुख यशोदा न्यौपाने, मुख्यमन्त्री राजकुमार शर्मा, पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, राष्ट्रिय सभा सदस्य बिष्णुबहादुर बिक, पुर्व-राष्ट्रिय सभा सदस्य जीवन बुढा, प्रदेश सभा सदस्य दुर्गबहादुर रावत, हिक्मत बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

स्मरण रहोस  वि.सं. २०४२ सालमा निर्माण कार्य सुरु भएको विमानस्थल ३८ बर्षदेखी निर्माणाधीन अवस्था रहेको थियो । विमानस्थलको लम्बाई ६४० मिटर र २० मिटर चौडाइ रहेको छ । विमानको टर्निङ्ग प्याप ५ सय वर्गमिटरका दुईवटा छन् । यस्तै, ट्याक्सी (वय) रुड २५ मिटर लम्बाई र २० मिटर चौडाइ रहेको छ । विमानको पार्किङ क्षेत्र ७० मिटर लम्बाई र ३० मिटर चौडाइ रहेको छ ।

फोटोहरुः पूर्णसिंह बम