
रमेश कुमार वली
सल्यान, १४ माघ । जिल्लाको कपुरकोट गाउपालिकाले कृषि मोवाइल एप्सको शुरुवात गरेको छ । कृषकहरुलाई मौसम, कृषि प्रविधि लगायतका विषयहरुमा घरमै वसेर जानकारी लिन सक्ने गरी एप्सको शुरुवात गरिएको हो ।
किसानहरुले आफ्नो स्मार्टफोनमा सजिलै डाउलोड गरी यो एप्सको प्रयोग गर्न सक्ने उपसर्ग टेक्नोलोजीका प्रवन्धक युवराज आचार्यले जानकारी दिनुभयो । “यो एप्स एपकटक डाउनलोड गरिसकेपछि इन्टरनेटको आवश्यकता पर्दैन, इन्टरनेटको पहुँच भन्दा वाहिरका किसानहरुले पनि घरमै वसेर जानकारी लिन सक्नेछन् ।” प्रवन्धक आचार्यले भन्नुभयो ।
कृषि कपुरकोट नाम दिइएको एप्स मार्फत किसानहरुले कृषि विज्ञहरुसंग कुराकानी गर्न सक्ने कपुरकोट गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास रिजालले जानकारी दिनुभयो । “एप्समा कृषि प्रविधि, विज्ञ सुझाव तथा च्याट, कृषि सूचना÷समाचार, बजार भाउ, मौसम पूर्वानुमान, कृषि तालिम, कृषि दस्तावेज, ग्यालरी, अत्यावश्यक फोन नं तथा विज्ञ विवरण समेत एप्समा उपलव्ध रहेका छन् यसलाई कृषकहरुले सजिलै आफनो व्यवसायमा प्रयोग गरी सुधार गर्न सक्नेछन् । ” रिजालले वताउनुभयो ।
तरकारीको पकेट क्षेत्रको रुपमा रहेको कपुरकोट क्षेत्रका किसानलाइ नयाँ नयाँ प्रविधिबारे जानकारी गराउने र व्यवसाय सञ्चालनमा आउने समस्यालाइ तत्काल समाधान गरी जोखिमबाट वचाउन कृषि कपुरकोट एप्स सञ्चालनमा ल्याएको कपुरकोट गाउपालिकाका अध्यक्ष भिम वहादुर सेनले जानकारी दिनुभयो ।
“सूचना तथा सञ्चार प्रविधिमा आएको परिवर्तनसंगै किसानको हातहातमै सूचना पु¥याउन गाउपालिकाको सहयोगमा ‘कृषि कपुरकोट’ एप्स सञ्चालन गरेका छौ ।” अध्यक्ष सेनले भन्नुभयो ।



Milan Shrestha । १४ माघ २०७५, सोमबार २१:०८ बजे