दिवंगत बुवाआमाको नाममा अक्षयकोष स्थापना


२ चैत्र, सुर्खेत । सुर्खेतको पूर्वी भेग भेरीगंगा ६ झिङ्गनीमा आज स्थानीय जनज्योति माध्यामिक विद्यालयमा अक्षय कोषको स्थापना गरिएको छ ।

पदम बहादुर दलामी, देवेन्द्र कुमार दलामी र दिल बहादुर दलामीले दिवंगत हुनुभएका आफ्ना बुवाआमा धनसरी दलामीको स्मृतीमा रु.१ लाख १ हजार १ सय ११ रुपैयाको हिरा, धनसरी अक्षयकोष स्थापना गर्नुभएको हो ।

हामीले विद्यालयमा आर्थिक अभावमा परेका अध्ययनरत विद्यार्थीहरुको अध्ययन कार्यमा सहयोग पुर्याउने उद्देश्यले अक्षय कोषको स्थापना गरेको कोषका संरक्षक पदम बहादुर दलामीले बताउनुभयो । उहाँले भन्नुभयो “अक्षयकोषले स्थापनादाता व्यक्ति तथा संस्थाहरुलाई हौसला र प्रोत्साहन प्रदान गर्नें, अक्षयकोष स्थापनाका लागि दाताहरुलाई उत्साहित गर्ने, अभिभावक र विद्यालय परिवार बिच सम्बन्ध सुदृढ गर्ने र आर्थिक अभावकै कारण पढ्न बाट कोहि पनि बालबालिका बञ्चित नहुन भन्ने उद्देश्य हो ।”

त्यस्तै संरक्षक दलामीले आगामी दिनहरुमा स्वर्गीय बुवा आमाको सम्झनामा विभिन्न सामाजिक कार्यहरु गर्दै जाने योजना रहेको कुरा पनि बताउनु भयो । उहाँले भन्नुभयो “स्वर्गीय बुवा आमाको शैक्षिक क्षेत्रमा निकै लगाव भएकोले वुवा आमाको सपना साकार पार्ने गरि अक्षय कोष मार्फत काम गर्दै जाने छौं ।”

कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र रोकायले यो क्षेत्रमा नै नयाँ कामको शुरुवात भएको भन्दै संरक्षकलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो “शैक्षिक क्षेत्रमा यस्ता किसिमको कार्यले शैक्षिक क्षेत्रको सुधार हुने भएकोले शिक्षा क्षेत्रमा लगानी गर्न आह्वान गर्दछु ।”