“रगत” यो मानिसको शरिर हुने एउटा यस्तो चिज हो जस्को अहिले सम्म कुनै विकल्प छैन् । यो एक व्यक्तिबाट निकालेर अर्को व्यक्तिमा सारिने चिज हो । सन् १९०१ मा डा.कार्ल लेण्डस्टेनरले मानव शरीरमा A, B र O रक्त समूह हुन्छ भन्ने महत्त्वपूर्ण उपलब्धि पत्ता लगाउनुभएको थियो । त्यस्तै सन् १९४० मा बाईनर र लेण्डिस्टेनरले रक्तसमूह अन्तरगत आर.एच.(पोजिटिभ र नेगेटिभ) पत्ता लगाउनुभएको थियो ।
त्यस्तै नेपालमा वि.सं. २००० मा दयावीर सिंह कंसाकारले पहिलो पटक रक्तदान गरेर रक्तदानको शुरुवात गर्नुभएको ईतिहास रहेको छ भने वि.सं. २०२१ वैशाख २६ गते विश्व रेडक्रस दिवसको अवसरमा तत्कालिन राजा महेन्द्रले पनि रक्तदान गर्नुभएको ईतिहास रहेको छ । त्यस्तै नेपालमा पहिलो पटक रक्तदान गर्ने महिला तारादेवी तुलाधर हुनुहुन्छ भने पहिलो नेगेटिभ समूहका रक्तदाता रामेश्वर प्रसाद श्रेष्ठ भएको बताइन्छ ।
सन १९३१ मा संसारको पहिलो ब्लड बैंक स्पेनको बार्सिलोना शहरमा स्थापना भएको थियो भने नेपालमा २०२३ श्रावण १२ गते वीर अस्पतालमा पहिलो व्लड बैंक स्थापना गरिएको थियो जस्को नाम लक्ष्मी ब्लड बैंक नामाकरण गरिएको थियो सो बैंकले पहिलो बर्ष १ सय ५७ युनिट रगत जम्मागरी आवश्यक बिरामीलाई उपलब्ध गराएको थियो।
नेपालमा शुरुमा सरकारले नेपाल रेडक्रस सोसाइटीलाई मात्र रगत र रक्ततत्व सम्वन्धी काम गर्नकालागि जिम्मा दिएको थियो । सरकारले वि.सं.२०७१ मा रक्तसञ्चार नीति जारी गरे सँगै रगत व्यवस्थापनमा एकल नेतृत्व रहेको नेपाल रेडक्रस सोसाईटी लगायत अन्य संस्थाले समेत निश्चित मापदण्ड पूरा गरी रगत वा रक्ततत्व व्यवस्थापन गरिरहेको अवस्था छ ।
यसरी समय परिवर्तन सँगसँगै देशका धेरै जिल्लाहरुमा नेपाल रेडक्रस सोसाइटीले चलाइरहेको रक्तसञ्चार केन्द्रहरुको स्तरउन्नती भैरहदाँ भने कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रेडक्रसबाट सञ्चालित रक्तसञ्चार केन्द्र भने स्तरउन्नतीको पर्खाइमा दिन व्यति गरिरहेको छ । नेपाल रेडक्रस सोसाइटीले २०५२ साल तीरबाट सुर्खेत जिल्लामा रक्तसञ्चार केन्द्र स्थापना गरेको पाईन्छ । वीरेन्द्रनगर ६ का स्थानीयबासी स्व. प्रकाश श्रेष्ठलाई प्राविधिक तालिम दिएर सुर्खेतमा रक्तसञ्चार केन्द्र संचालन गरिएको थियो जुन अहिले पनि सञ्चालित छ ।
सुर्खेतमा जिल्ला अस्पतालको भवनबाट शुरुभएको रेडक्रसको रक्तसञ्चार केन्द्रले शुरुवातताका बार्षिक १ सय ५० देखि २ सयको हाराहारीमा रगतको खपत गर्ने गर्दथ्यो भने अस्पतालको स्तरन्नोति भएर मध्यपश्चिमाञ्चल भएपछि भने रगत खपतको मात्रा बार्षिक १ हजारकोमा पुगेको र यो संख्या देश संघीयतामा गएसँगै अस्पताल प्रदेश अस्पतालमा स्तरन्नोती भएपछि भने रगत खपतको मात्रा ह्वातै बढेको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका प्राविधिक ईन्चार्ज देपेन्द्र केसीले जानकारी दिनुभयो ।
यसरी दिनप्रतिदिन रगत र रक्ततत्वको माग बढ्दा पनि रेडक्रसले भने रक्तसञ्चार केन्द्रलाई स्तरन्नोती गर्न सकेको छैन । रेडक्रसले सञ्चालन गरेको रक्तसञ्चारमा अहिले सम्म केवल Whole Blood को काम मात्र हुने गरेको छ । १ जना प्राविधिक ईन्चार्ज तथा २ जना प्राविधिक सहयोग करारमा राखेर सञ्चालित रक्तसञ्चार केन्द्रमा करिब १ सय ५० यूनिट रगत भण्डार गर्न सक्ने क्षमताका २ वटा फ्रिज रहेको छ भने चाहिने प्राविधिक सामाग्री रक्तसञ्चार केन्द्रले आफैले खरिद गरिरहेको छ ।
सरकारको निती परिमार्जन सँगै भने प्रदेश अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको संयुक्त लागतमा २०७९ जेठ ९ गते रक्तसञ्चार केन्द्रको स्थापना गरेको छ । प्रदेशको व्लड बैंकले भने विशेषत कम्पोनेन्ट (रक्ततत्व) हरुको काम गर्दै आएको रक्तप्राविधिक पूर्ण गैह्रे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ हामी कार्यालय समय भन्दा अन्य समयमा अनकल्ड रक्ततत्व सम्वन्धी काम गर्छौं ।
यसै सन्दर्भमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेत पनि कर्णालीमा प्रादेशिक स्तरिय रक्तसञ्चार केन्द्र लागि परिरहेको शाखाका सभापति रामलाल आचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “म आफै पनि सुर्खेतबाट नेतृत्व गर्दै केन्द्रीय सदस्यमा छु मैले प्रयास गरेरै केन्द्रमा कर्णालीमा प्रादेशिकस्तरको रक्तसञ्चार केन्द्र खोल्न निर्णय नै गराएको छु यस्कालागि हामीले स्वीस रेडक्रसलाई पनि अनुरोध गरेका छौ भने विभिन्न दाताहरुलाई पनि सहयोगकालागि अनुरोध गरेका छौं । हामीलाई प्रादेशिकस्तरको रक्तसञ्चार केन्द्र सञ्चालन गर्न भवन प्रर्याप्त छ तर सामाग्री जुटाउन गाह्रो भएकोले हामीले दाताहरुलाई सहयोगकालागि अनुरोध गरेका छौ । आशा छ हाम्रो प्रयासले चाँडै नै सफलता पाउने छ ।”
यता कर्णालीमा रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्दै हाम्रो यसै अनलाइनका प्रधान सम्पादक प्रवाश कुमार शाक्य पनि विगत २०५४ सालबाट रक्तदानमा सक्रिय भएर लाग्नुभएको छ । शाक्य भन्नुहुन्छ “कर्णालीमा पहिला भन्दा धेरै रक्तदाता हुनुहुन्छ तर अझै पनि रक्तदाता उत्प्रेरणा कार्यक्रमको खाँचो नै छ । हामीले २०७९ सालबाट सुर्खेतमा छरिएर रहनुभएका रक्तदाताहरुलाई संगठित गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाजको शाखा गठन गरेका छौ यसै समाजद्वारा हामी हरदम रगतको जोहो गर्न लागेका छौं । हामी चाँडै नै ११ तथा १२ का विद्यार्थीहरुलाई लक्षित गरेर रक्तदाता उत्प्रेरणा कार्यक्रम गर्दैछौं । त्यति मात्र नभएर हामीले दानमा पाएको रगत विरामीले निशुल्क पाउनुपर्छ भनी समाजले अगाडी बढाएको कुरालाई स्थानीयतह वीरेन्द्रनगर नगरपालिका ज्ञापन पत्र दिएका छौ तर कुनै सुनुवाई हुन सकेको छौ ।”
“सरकारले एउटा आफ्ना नागरिकका बारेमा ख्याल गर्ने पर्ने कुरा स्वास्थ हो त्यसमा मुख्य कुरा नै रगत हो । तर तीनैतहका सरकारको यस तर्फ कुनै ध्यान नै छैन् ।” केन्द्रीय सदस्य शाक्य भन्नुहुन्छ ।
यसरी भएको थियो नेपालकै पहिलो रक्तदान
कुरा वि.सं.२००० सालको हो । राणा प्रधानमन्त्री जुद्धशमसेरको शासनमा थिए । समाजमा जातजाति र छुवाछुतको नाटीकुटी व्याप्त थियो । कट्टर नियममा बाँधेको समाज त्यसमाथि पनि रगत लिनु र दिनु भनेको निकै डरलाग्दो कुरीति र नीति विपरीत थियो । कामको सिलसिलामा परोपकार संस्थाका संस्थापक दयावीरसिंह कंसाकार आफुले चिनेका सुपरीटेन्डेन्ट डा.देवव्रतदास गुप्तालाई भेट्न वीर अस्पताल गएका रहेछन् ।
यतिकैमा उनले वीर अस्पतालको प्राङ्गणमा एक अधबैँसे महिला जोड जोडले रोईरहेकी देखे । ती महिला आफ्नो एक्लो छोरा रत्नकाजी तुलाधरको ज्यानको भिख माग्दै बिलौना गर्दै थिईन । त्यहाँ उनको रोदन सुन्ने कोही थिएन । न त उनलाई सहयोग गर्न सक्ने नै कोही थिए । ती महिला त्यसरी ज्यान फालेर रोईरहेको देखेर दयावीरले सोधे, के भयो तपाईँलाई ? किन यसरी रोएको ? ती महिलाले आफ्नो छोरा रगत नभएर मृत्युशैयामा छट्पटाई रहेको व्यथा सुनाईन् । ‘तत्काल रगत दिन सकेन भने मेरो एक्लो छोरो मर्छ’ उनले रुँदै दयावीरलाई भनिन् । यो कुरा सुनिसके पछि तपाई नै हृष्टपुष्ट हुनुहुन्छ किन रगत नदिएको भनि दयावीरले प्रतिप्रश्न गरे । रगत दिएपछि मान्छे मरिन्छ भनि डरले उनले रगत दिन मानिनन् । रगत दिनको लागि दयावीर तयार भए । तत्काल उनको छोराको उपचार गरिरहेका डाक्टरलाई भेटे । आफ्नो रगत झिकी बिरामीलाई दिन डाक्टरलाई दयावीरले आग्रह गरे । यसरी कुनै एक अपरिचित मान्छेले नचिनेको व्यक्तिलाई रगत दिन लागेको कुरा सुनेर रत्नकाजीको उपचारमा संलग्न रहेका डाक्टर स्वंयमले पनि अचम्म माने ।
संयोगले मृत्युशैयामा छट्पटाई रहेको रत्नकाजी र दयावीरको रगत समुहपनि एउटै रहेछ । डाक्टरले कुनै ढिलाई नगरी दयावीरको शरीरबाट रगत निकाल्न थाले र रगत नभएर छटपटाई रहेका रत्नकाजीको शरीरमा सीधै रगत दिएर उनको ज्यान बचाए । त्यतिबेला ब्लडबैंक वा रगत संकलन गर्ने कुनै केन्द्र थिएन् । रगत मान्छेको शरीरबाट सीधा झिकेर बिरामीमा ट्रान्सफर गर्नुपर्थ्यो ।
वि.सं.२००० सालमा दयावीरले मृत्यु शैयामा रहेका रत्नकाजी तुलाधरलाई दिएको रक्तदान नै नेपालको पहिलो ऐतिहासिक रक्तदानका रुपमा रहन पुग्यो । वि.सं.१९६८ साल बैशाख २२ गते काठमाडौंको केल मासं गल्लीमा जन्मेका समाजसेवाका अग्रणी व्यक्तित्व दयावीरसिंह कंसाकार नेपालका प्रथम रक्तदाता एवं नेपालको जेठो लोककल्याणकारी संस्था परोपकार संस्थाका संस्थापक अध्यक्ष हुन् । उनको समाजसेवाको कदर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुले सम्मान तथा पुरस्कार प्रदान गरेका छन् । उनको यो योगदानको कदर गर्दै तत्कालिन श्री ५ को सरकारले वि.सं.२०५९ सालमा उनको तस्वीर अंकित हुलाक टिकट समेत प्रकाशित गरेको थियो । उनको मृत्यु वि.सं.२०५७ माघ २३ गते भएको भयो ।
स्मरण रहोस डा.कार्ल लेण्डस्टेनरको जन्मदिन १४ जुनलाई सन २००४ बाट विश्व स्वास्थ्य संगठनले विश्व रक्तदाता दिवसको रूपमा मनाउने निर्णय गरेको थियो।
(विभिन्न अनलाइनको सहयोगमा)
Milan Shrestha । ४ मंसिर २०८१, मंगलवार १५:४६ बजे