कमरेडले सुनाएको पुनर्जीवनको कथा


– शक्ति बि.क. “हिमशिखर”
आकाशमा कतै-कतै बादलका धर्साहरु थिए । मौसम चिसो-चिसो थियोे । अलि-अलि आकाश रुदै र हाँस्दै गरिरहेको थियो । पुस महिनाको आधी भैसक्दापनि आकाश नरोएकोमा दुखी भएका किसानहरु यस्तो मौसम देख्दा खुशी महसुस गर्दै अनुहारमा चमक देखाइरहेका थिए । यो समय २०७५ पुस महिनाको थियोे ।
पार्टीको स्थायी र कमान्डको बैठक पश्चात् ब्यूरोमा तात्तातो योजनाको सम्प्रेषणको लागि उकालो चढेर बैठक स्थल रवाना हुदैथियौं । साथमा क. ध्रुब, क.अडिग अनि उमेरले तिनबिसे उकालो चढिरहेको भएपनि चमचमाउदो अधबैंसे जोस र जाँगरले भरिपुर्ण यो कथाका मुख्य नायक क.शितलका साथमा म रन्केर हिंडिरहेको थिएँ ।
क.अर्जुन र यमराजसँग अन्तिम सम्पर्क स्थलमा भेट भएपनि काम विशेषले हामिसँगै आउनुभएन । समयले साथ दिएमा बाटो र बैठक स्थलको नाम भने कुनै सन्दर्भमा पछि भन्नेछु । बाटोमा पार्टीले तत्काल पारित गरेर नितान्त भिन्न तरिकाले पुरानै योजनाको निरन्तरता जस्तो लाग्ने तर नयाँ ‘संगठन सुदृढ तथा विस्तार अभियान’नाम दिएको पार्टी आन्तरिक जिवनमा उथलपुथल ल्याउने गरि ल्याएको योजना सम्बन्धि उत्सुकताकासाथ अनौपचारिक छलफल सहित बाटो काट्ने उदेश्यले बेप्रसंग कुराकानी गर्दै अगाडि बढिरहेका थियौं । सबै दृष्टिकोणले परिस्थिति अलि हाम्रो प्रतिकुल बनिरहेको थियो । हामी कसैलाई नचिनिने गरि यात्रा गरिरहेका थियौं ।
बिषेशत: त्यस क्षेत्रमा क.शितललाई चिन्ने सम्भावना बढी थियो । नभन्दै बाटोमा एउटा वृद्ध भेटिनुभो टाढैबाट क.शितलले चिनिहाल्नुभयो वहाँलाई । तर ती वृद्धले झट्ट नठम्याएका कारण क.अडिगको आडलिदै आँखा छलेर अगाडि बढिरहयौं । वहाँलाई नभेट्नुको कारण हाम्रो मिसनको तार्गेटलाई कतै अवरोध नहोस् भन्नेथियो । अलि अगाडि बढिसकेपछी क.शितलले भावुक मुद्रामा भन्नुभो “वहाँको छोराले त मेरो पुनर्जीवन दिनु भएको हो ।” अनि मलाई थप उत्सुकता जागिहाल्यो र कुरा भुइँमा खस्न नपाउदै प्याट्टै सोधिहालें, किन सर? कसरी ? वहाँले स-विस्तार वर्णन गर्न शुरु गर्नु भो र भन्नुभो “हिमशिखर जी कुरा २०५६ साल भदौ महिनाको हो म पार्टी कामको सिलसिलामा रु. ८० हजार बोकेर नेपालगन्ज झरेको थिएँ । साथमा क.पदम हुनुहुन्थ्यो । त्यतिबेला साना रेडियो र वाकमेनको निकै फेसन चलेको थियो ।
पार्टीले उक्त रकमको जति आउछन् सबै वाकमेन र रेडियो ल्याउने निर्देशन दिएकोले एउटा रेडियो पसलमा छिरेका थियौं । C.I.D.ले कताबाट सुइँको पाइहालेछ । साउजिसँग कुराको सुरुवात गर्न नपाउदै पुलिसको भ्यान हाम्रा अगाडी आयो र हामिलाई गिरफ्तार गरिहाल्यो । जि.प्र.का.पुर्‍याईसकेपछि D.S.P.ले कोर्रा सहित केरकारको शुरुवात पहिले क.पदमबाट गर्‍यो र भन्यो “आतंक शृजना गरेर राजतन्त्रका विरुद्ध जाने ? श्री ५को होइबक्सन्छ थाहा छ? अनि त्यो को हो? भनेर म तिर घोरिएर लाटोकोसेरोको जस्तो आँखा लगाएर चितुवा झैँ गर्जिएर सोध्यो । क.पदमको मुखबाट भल्भल्ती रगत बगिरहेको थियो, तैपनि कत्ति नडगमगाएर भन्नुभो “वहाँ हाम्रो सर हुनुहुन्छ।” को सर? झन कड्किएर सोध्यो। उहि भावभङ्गि सहित प्रष्ट स्वरमा नआत्तिएर थप्नुभो “शितल सर हुनुहुन्छ।” यति भनिसकेपछि उसले मलाई योअलि ठुलो रहेछ भन्ने बुझिहाल्यो।
त्यसपछि ममाथी अलि नम्रताको भाव प्रकट गर्दै सोधपुछ शुरु गर्‍यो र राजनैनिक भाषा प्रयोग गरेर अनुसन्धान गर्नथाल्यो। घुमाइफिराई पार्टीको गोपनियता खोल्ने भरपुर प्रयास गर्‍यो । मेरो पनि हरेकपल्ट एउटै जवाफ थियो ‘म माओवादी कार्यक्रता हुँ, मलाई राजनैतिक व्बयवहार गरियोस्, म मेरो पार्टीको प्रतिबद्ध शिपाही हुँ, त्यसैले म बाट कुनैपनि गोपनियताको भङ्ग गराउने दुस्प्रयास नगर्नुहोस्, म बाट गद्दारी हुनेछैन बरु सहिद बन्न तयार छु। ‘अब भने D.S.P.हैरान भैसकेको थियो र मबाट कुनै पोल नपाइने पक्का गरिसकेको थियो ।
त्यसपछि त शरीरभरि लाठी र बुट बर्षिन थाले निरन्तर-निरन्तर……..। पहिला-पहिला त दुखाईको पीडा असह्य भैरहेको थियो, जब बेहोस भएर अर्धचेत भैयो त्यसपछि त सपनाजस्तो आभास भैरहेको थियो । पर्सिपल्टको साँझमात्र निन्द्राबाट ब्युँझेजस्तै भएर आँखा खोल्दा त क.पदम अचेत अबस्थामै पल्टिरहनु भएको थियोे । आधा राप्ती सुकाईदिउँला जस्तो तिर्खा लागिरहेको थियोे । उठ्न खोजें हात र खुट्टा चलिरहेका थिएनन्, ओठ र मुख सुकेर कलेटी परेका थिए, बोल्न खोज्दा आवाज आइरहेको थिएन, दुखाइ तथा पिडाको वर्णन गर्ने त शब्द नै छैन । लाग्यो अब मरिन्छ होला, मनमा अनेक कुराहरु खेल्न थाले ।
अर्धमृत भौतिक शरीर त्यतै भएपनि मन भने निलगगन आकाशमा उडिरहेको पन्छिजस्तो स्वतन्त्रताको पँखा फिजाईरहेको थियो र कल्पनाको डुंगा खियाई रहेकोे थियोे, नौलो जनवादी व्यवस्थाको हराभरा रक्तिम तथा सुगन्धित साझा फूलबारीको।

समय बित्दै गयो । क.पदमलाई आजिवन कारावासको सजाय सुनाएर जेल चलान गरिसकेको थियो । शरिरका घाउहरु निको हुदैथिए केही टाटा बसिसकेका थिए भने केही बल्झिरहेका थिए । २६औं दिनको राती ०९:३०बजे मलाई मार्ने योजनाको षड्यन्त्र सहित छोड्ने नाटकको प्रपन्च रचना गरियो अनि बोलाइयो र भनियो। “ल सर! सबै अनुसन्धानबाट हजुर निर्दोष ठहरिनु भएकोले हजुरलाई छोड्दैछौं, यहाँ रहँदा केही असहज महसुस भएमा……..।
“भन्दै एउटा कागजमा हस्ताक्षर गर्न लगाइयो र मेरो जफत गरिएको ८० हजार रुपैयाँ सहित मलाई गाडीमा राखियो । “ल केटा हो! सरलाई यति राती पठाईदिदैछौं अलि पर लिएर होटलमा व्यवस्था गरेर आइजा ! “D.S.P.ले निर्देशन दियो । मलाई शंका त लागिरहेकै थियो तर मारिनै हाल्ला भन्ने लागेको थिएन । अलि केही पर पुगिसके पछि गाडिबाट निकालियो र केही मिटर हिँडाईयो । त्यसपछि ती नरभंक्षी कसाँईहरुको जत्थाको नाईकेले आफ्नो सदस्यहरूलाई अलि अगाडि जाने निर्देशन दियो अनि मेरो नजिक आयो र भन्यो “म तपाईंको नातेदार हुँ, मेरो नाम……हो । तपाईँलाई मार्ने माथिको आदेश छ, म मेरो फुलिको लागि हाम्रो नाता सम्बन्धमा कलंक लगाउन चाहन्न, तपाईंलाई नै बचाउनको लागि मैले हाम्रो सम्बन्धको बारे कसैलाई भनेको छैन, शुरुकै दिन तपाईंलाई चिनिसकेको थिएँ । आज मेरो दुर्भाग्य र तपाईंको सौभाग्यले तपाईँलाई मार्न मलाई नै पठाएको छ, मेरो जागीर धरापमा पार्दै
तपाईंलाई छोड्दैछु । (नभन्दै उसले जागिरबाट हात धुनुपरेछ । पछि थाहा पाएँ) म तपाईँलाई जानीजानी मार्न सक्दिन, त्यसैले तपाईं जतिसके यहाँबाट भाग्नुस………। “उसले भन्यो । म एक्कासि छाँगाबाट खसेझैं भएँ, मुटु फुट्लाझैं गरि धड्किन थाल्यो, म मृत्यु जितेर निस्केको एउटा शिपाही थिएँ, यसअघिपनि कैयौंपटक असिनाझैं बर्षिने गोलीको भिडबाट बाँचेर आएको थिएँ तर यति हतास भने कहिल्यै भएको थिएन । म पर्छिसकेको बोका झैं निरीह प्राणी बनाईएको रहेछु ।
अब भने चितुवाको मुखबाट फुत्केको मृगझैं भएको थिएँ । म भाग्नको लागि अलि पाईला सार्ने बित्तिकै उसले नाटकीय पाराबाट बिपरित दिशातिर संकेत गर्दै “ए…ए…भाग्यो,आतंककारी भाग्यो ठोक ठोक भन्यो र माथी खबर गर भनेर आदेश गर्‍यो । वाकिट्वाकीबाट रिपोर्ट गरेको र थप फोर्स माग गरेको प्रष्ट सुनें । त्यसपछी मलाई झन् डर थपियो, अब भेटाउछ भनेर । मेरा लागि नेपालगन्जको भूगोल अपरिचित थियो, फेरि त्यसैमा रातीको समय त्यैपनि अन्धाधुन्ध दौडिएँ ।रातभरि दौडिसकेपछी दक्षिणतिर राप्तिको किनारमा झिसमिसेको उज्यालोमा पुगेँ ।
खुट्टामा जुत्ता र चप्पल हुनेत कुरै भएन तर सर्ट र पाइन्टपनि च्यातिएर छुटिहालेछ । संयोगले ढाडमा बाँधेको पर्स र रुपैयाँ भने बचेको रहेछ । मांसाहारी ब्वाँसोले लखेटेर भेटाउन नसकेको निरिह चितलको हालतमा जंगलमा पुनर्जीवनको सास फेरिरहेको थिएँ । अलि पर एउटा युवालाई देखें र उसलाई नजिक बोलाउने कोसिस स्वरुप ‘ए भाइ यता आउ त’ भनेर के भनेको थिएँ उ त झन् मेरो त्यस्तो हालत देखि डराएर चोर हो या बौलाहा हो भन्ठानेर भाग्न पो थाल्यो । त्यसपछि उसलाई सचेत गराउदै भनें ‘भाइ म एउटा ब्यापारी हुँ, मलाई चोरहरुले यस्तो हालत बनाए, मसँग भएको पैसा पनि लुटेर लगे, मलाई उद्दार गर भाइ ‘भनिसकेपछी उसलाई दया र आशंका दुइटै पलाएछ र एउटा लठ्ठी ल्याएर नराम्रो मान्छे भएपछि सिद्दाउछु र राम्रो भएपछि सहयोग गर्छु भन्ने उदेश्यसहित मेरो नजिक आए ।
मैले सम्झाई बुझाई गरें र एउटा हाफ पाईन्ट, टिसर्ट र एक जोर चप्पल ल्याइदिन भनेर दस हजार रुपैयाँ दिएँ । उत अकमकाएर’यती धेरै पैसा लाग्दैन दाई ‘भन्नथाल्यो, मैले जति पर्छ मलाई सामान ल्याईदेउ ! बाँकी तिमी खर्च गर ! भनेर पठाएँ । एक घण्टा लगाएर उसले आफ्नो इमानदारीताको प्रदर्शन गर्‍यो । त्यतिन्जेल राप्तिको किनारामा गएर मैले शरिरको हिलो पखाली सकेको थिएँ, त्यसपछि मलाई सम्पर्क स्थानतिर जानको लागि बाटोको समस्या परेको थियोे अब उसैलाई आग्रह गरें र भनेँ भाइ ! मलाई यहाँबाट कोहलपुरसम्मको बाटो देखाईदिनु बरु तपाईँलाई थप दुईहजार पैसा दिन्छु भनें तर उ थप पैसा लिन मंजुर भएन र मलाई जंगलको बाटो हुँदै कोहलपुरसम्म ल्याएर छोडिदियो । त्यसपछि म सुर्खेततिर लागें र आफन्तको घरतिर गएर पुनर्जीवनको आगो सेकेँ ।
समय बित्दै गयो । क्रान्ति आगोको लप्का झैं फैलिदै र झाङ्गिदै अध्बैंसे हुदैथियो, जनमुक्ति सेनाको घोषणा भएर ठुला-ठुला फौजी हमलाहरु अपेक्षाकृत ढंगले हुँदै विकासको नयाँ गतिमा फड्को मार्दै थियोे ।
यसैवीच २०५८ साल मंसिर ८ गते राती दाङ्गको घोराही स्थित तत्कालीन शाही अमेरिकी सेनाको फौजी अड्डामा हमला गर्ने वेला त्यतैबाट जनमुक्ति सेनाले  क. पदमलाई छुटाउन सफल भयो अनि त युद्धको यात्रामा पुनर्मिलन भयौं र नाफाको जीवनलाई मुक्तिको मार्गमा अगाडि बढायौं।”
यसरी वहाँले आँङ्ग नै सिरिङ्ग हुने आफ्नो पुनर्जीवनको कथा सुनाउदै गर्दा मेराआँखा नै रसाइरहेका थिए, त्यो बिगतलाई सम्झेर । उकालोको बाटो काटेको पनि थाहै भएन । हुनत हामी सबैको साझा कथा हो, गोलि लागे मर्ने नलागे बाँच्ने जोखिमपुर्ण यात्राका यात्री थियौं हामी । सबै खुकुरीको धारमा पिडालुको पातको पानीको जस्तै जीवन ब्यातित गरेर आएका थियौं । र पनि लाग्यो  संयोगले त्यो रात डिउटिमा वहाँको नातेदार पुलिसको सई नभएको भए वहाँको नाम पनि हजारौं रक्तबीज जस्तै शहिदमालामा हुन्थ्यो।
अस्तु २०७५ पुस, सुर्खेत