आजबाट लकडाउनमा कडाई


१६ बैशाख, सुर्खेत । लकडाउन अवधिमा कर्णाली भित्रिनेहरुको संख्यामा भारी वृद्धि भइरहेपछि कोरोना संक्रमण फैलन सक्ने त्रासका कारण आज विहान पाँच बजेदेखि सुर्खेत आउने र सुर्खेतबाट जाने सबै नाका पूर्ण रुपमा बन्द गरिएको छ ।

लकडाउनको अवधिमा कर्णालीमा सुर्खेत भएर आउनेहरुको संख्या सोमबार साँझसम्म ८ हजार १६० जना पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोटमा सबैभन्दा बढि नागरिक भित्रिएका छन् ।

यो अवधिमा कालिकोटमा २५ सय ५९ जना प्रवेश गरेका छन् भने सरकारकै अर्का मन्त्री दल रावलको गृह जिल्लामा ९ जना मात्रै भित्रिएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोटमा

सबैभन्दा बढि नागरिक भित्रिएका छन्

यो संख्या कर्णाली भन्दा बाहिरबाट बबई नाका हुँदै आएकाहरुको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको गृहजिल्ला जुम्लामा १३२९ जना प्रवेश गरेका छन् । सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको गृहजिल्ला डोल्पामा ६ सय ५५ जना भित्रिदा सरकारकै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको जिल्लामा रुकुम पश्चिममा २ सय ६७ जना भित्रिएका छन् ।

त्यस्तै आर्थिक मामिला तथा कानून मन्त्री प्रकाश ज्वालाको गृह जिल्ला सल्यानका १ सय ९७ जना बबई नाका हुँदै भित्रिएका छन् । सुर्खेतका ८ सय ८६ जना, दैलेखका ९ सय ३, जाजरकोटका ७ सय ३८ जना कर्णालीमा आएका छन् । मुगुका ५ सय १७ जना आएका छन् ।

गृह मन्त्रालयको निर्देशन पछि आज विहान ५ बजेदेखि कर्णाली प्रवेश गर्न रोक लगाइएको छ । फलफुल र तरकारी आयात गर्न रोक लगाइएको कर्णालीमा अत्यावश्यक बाहेकका अन्य साधनहरु सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाइएको प्रहरी निरीक्षक गोपाल रायमाझीले बताउनुभयो ।